हेटौँडा । विश्व रेन्जर दिवसको अवसरमा हेटौँडामा रेन्जर स्तम्भ शिलान्यास तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “Rangers: Guardians of a Changing Planet” भन्ने अन्तर्राष्ट्रिय नारासहित वन विज्ञान अध्ययन संस्थानको वन्यजन्तु सङ्ग्रहालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले रेन्जर स्तम्भको शिलान्यास गर्नुभयो। सो अवसरमा उहाँले नेपालको वन सम्पदा संरक्षणमा रेन्जरहरूले निर्वाह गर्दै आएको भूमिका अतुलनीय रहेको बताउँदै “रेन्जरहरूको अथक मेहनत, समर्पण र लगनकै कारण ‘हरियो वन, नेपालको धन’ भन्ने नाराले सार्थकता पाएको छ,” भन्नुभयो। उहाँले वन संरक्षण, जैविक विविधताको रक्षा र वातावरणीय सन्तुलन कायम गर्न रेन्जरहरूको योगदान सधैं सम्मानयोग्य रहने उल्लेख गर्नुभयो।
कार्यक्रमको समन्वय वन विज्ञान अध्ययन संस्थान, हेटौँडा तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय, हेटौँडा ले गरेका थिए। कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्रालय, वन निर्देशनालय हेटौँडा, डिभिजन वन कार्यालय मकवानपुर, डिभिजन वन कार्यालय राप्ती (मनहरी), हेटौँडा उपमहानगरपालिका तथा ZSL नेपाल ले कार्यक्रमलाई सहयोग गरेका थिए।
कार्यक्रम नेपाल वन प्राविधिक संघ (केन्द्रीय समिति तथा बागमती प्रदेश), फरेस्ट टेक्निसियन्स एसोसिएसन अफ नेपाल, जुनियर वन प्राविधिक संघ नेपाल तथा वाइल्डलाइफ कन्जरभेसन एसोसिएसन नेपाल को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
नेपाल वन प्राविधिक संघ बागमती प्रदेशका अध्यक्ष उत्तम चापागाईं ले विश्व रेन्जर दिवस प्रत्येक वर्ष जुलाई ३१ मा वन, वन्यजन्तु तथा संरक्षित क्षेत्रको संरक्षणमा अग्रपङ्क्तिमा रहेर कार्यरत रेन्जरहरूको योगदानको सम्मानस्वरूप मनाइने जानकारी दिनुभयो। उहाँका अनुसार यस दिवसले रेन्जरहरूको साहस, समर्पण र प्राकृतिक सम्पदाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको छ।
कार्यक्रममा कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्रालयका प्रतिनिधि, वन निर्देशनालयका पदाधिकारी, वन विज्ञान अध्ययन संस्थानका प्रतिनिधि, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, डिभिजन वन कार्यालय मकवानपुर र राप्तीका कर्मचारी, हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधि, नेपाल वन प्राविधिक संघ, फरेस्ट टेक्निसियन्स एसोसिएसन अफ नेपाल, जुनियर वन प्राविधिक संघ नेपाल, वाइल्डलाइफ कन्जरभेसन एसोसिएसन नेपाल, ZSL नेपालका प्रतिनिधि, वन प्राविधिक, रेन्जर, संरक्षणकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत रेन्जर स्तम्भ शिलान्याससँगै वृक्षारोपण समेत गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले रेन्जरहरूको योगदानप्रति सम्मान प्रकट गर्नुका साथै वन संरक्षण, जैविक विविधता र वातावरण संरक्षणप्रति आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।















