कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

१४ टोलीको सहभागिता, नेपाल न्याय च्याम्पियन, भक्तपुर बार ‘ए’ उपविजेता

0

भक्तपुर । कानुन व्यवसायी, अदालत र न्याय क्षेत्रबीच आपसी सद्भाव, सहकार्य तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित ‘लयर्स फुटसल कप–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। भक्तपुर बार एसोसिएसनको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा चार जिल्लाका बार एसोसिएसन, जिल्ला अदालतका टोली, कानुनी सेवा तथा कानून फर्मका गरी १४ टोलीको सहभागिता रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले अदालत र बारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन खेलकुदजस्ता सिर्जनात्मक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले जिल्ला बार एसोसिएसनहरूले आगामी दिनमा पनि खेलकुद, व्यावसायिक तथा सामाजिक गतिविधिमार्फत आपसी सहकार्य र सद्भावलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश नवराज दाहाल, जिल्ला न्यायाधीशहरू तथा विभिन्न जिल्लाका वरिष्ठ कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोक बार एसोसिएसन, जिल्ला अदालतका टोली, कानुनी सेवा तथा कानून फर्म गरी १४ टोली सहभागी भएका थिए। टोलीहरूलाई चार समूहमा विभाजन गरी लिग चरणका खेल दुई हाफमा ७–७ मिनेट तथा नकआउट चरणका खेल दुई हाफमा १०–१० मिनेट खेलाइएको थियो।

प्रतिस्पर्धात्मक फाइनलमा नेपाल न्यायले उपाधि जित्न सफल भयो भने भक्तपुर बार ‘ए’ उपविजेतामा सीमित रह्यो। काठमाडौं बार ‘सी’ तेस्रो तथा भक्तपुर बार ‘बी’ चौथो स्थानमा रह्यो। विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले ट्रफी तथा सम्मानपत्र प्रदान गर्नुभएको भक्तपुर बारका अध्यक्षा रामसुन्दर खाइतुले जानकारी दिनुभयो । उहाँका अनुसार विजयी टिमलाइ नगद पुरस्कारले समेत सम्मानित गरिएको थियो ।

प्रतियोगिता सम्पन्न गर्न नेपाल टेलिकम, नेपाल इको प्यानल, अयुप इन्टरनेशनल, महालक्ष्मी इन्टरप्राइजेज प्रा.लि., श्रीभक्त कासिछ्वा, नेपाल लक्ष्मी फेसन प्रा.लि. लगायतका संस्था तथा कानुन व्यवसायी फर्महरूले सहयोग गरेका थिए। संवाहक मिडिया हाउस र नागरिक दैनिक मिडिया पार्टनर तथा मध्यपुर अस्पताल प्रा.लि. स्वास्थ्य पार्टनरका रूपमा सहभागी रहेका भक्तपुर बारका सचिव अनिस सुवालले जानकारी दिनुभयो ।

आयोजक भक्तपुर बारका अनुसार प्रतियोगिताले कानुन व्यवसायी, अदालत र न्याय प्रशासनसँग आबद्ध व्यक्तिहरूबीचको सम्बन्धलाई अझ नजिक ल्याउनुका साथै स्वस्थ प्रतिस्पर्धा, पारस्परिक विश्वास र सहकार्यको वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।