भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घका अध्यक्षमा चन्द्रभक्त श्रेष्ठ, उपाध्यक्षमा अल्बर्ट बज्राचार्य

0

भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घको १६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन आइतबार भक्तपुरको गपलीस्थित भक्तपुर पार्टी भेन्यूमा सम्पन्न भएको छ।

अधिवेशनले आगामी कार्यकालका लागि चन्द्रभक्त श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा  अल्बर्ट बज्राचार्य, महासचिवमा  बुद्धि कुमार मुस्याख्वा, कोषाध्यक्षमा राकेश प्रजापति, सह कोषाध्यक्षमा तुल्शी लाल कवे,   यस्तै कार्यसमिति सदस्यहरूमा कुमार सापकोटा, सत्यन्द्र सुकुभटु, किशोर प्रजापति, दिल रेमन कोजु , उज्ज्वल गाईजु चयन हुनुभएको छ।

साधारण सभामा सङ्घको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रममाथि छलफल गरिएको थियो। सहभागी व्यवसायीहरूले विद्युतीय सामग्री बजार व्यवस्थापन, व्यावसायिक अनुशासन, उपभोक्ता हित संरक्षण, गुणस्तरीय सामग्रीको प्रवर्द्धन तथा व्यवसायीका साझा समस्याको समाधानका विषयमा धारणा राखेका थिए।

नवनिर्वाचित अध्यक्ष चन्द्रभक्त श्रेष्ठले सङ्घलाई व्यवसायीहरूको सशक्त साझा मञ्चका रूपमा विकास गर्दै व्यवसायीहरूको हकहित, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले व्यवसायीबिचको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै बदलिँदो बजारको आवश्यकता अनुसार सङ्घलाई अघि बढाइने बताउनुभयो।

नयाँ नेतृत्व चयनसँगै सङ्घले व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक दक्षता अभिवृद्धि, संस्थागत विकास तथा विद्युतीय सामग्री व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउने लक्ष्यसहित आगामी कार्यदिशा तय गरेको जनाएको छ।

यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्मा,भक्तपुर घरेलु तथा साना उद्योग सङ्घकी सचिव सृजना कक्षपती, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्मा, सङ्घका संस्थापक अध्यक्ष न्हुछे रत्न मानन्धरलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मल्होत्राले राजनीतिक स्थिरताले मुलुकको विकास निर्माणलाई तीव्रता दिन सक्ने वातावरण सिर्जना गरेको बताउनुभयो। उहाँले दीर्घकालीन योजना निर्माण र प्रभावकारी कार्यान्वयनका लागि स्थिर सरकार आवश्यक रहेको उल्लेख गर्दै सबै तहका सरकारबिच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

“स्थिर सरकारको उपस्थितिले विकास निर्माणका कामलाई गति दिन सहज हुन्छ। सरकारले जनअपेक्षा अनुसार काम गर्दै दीर्घकालीन योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो।

मल्होत्राले निजी क्षेत्रलाई देशको आर्थिक विकासको प्रमुख साझेदारका रूपमा व्याख्या गर्दै उद्योग, व्यापार तथा व्यवसायको प्रवर्द्धनबिना समृद्ध अर्थतन्त्र निर्माण सम्भव नहुने बताउनुभयो। उहाँले व्यवसायीहरूलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना र राजस्व योगदानमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन आग्रह गर्नुभयो।

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले व्यवसायीहरूलाई कानुनी प्रक्रिया तथा मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै सरकारी निकाय र निजी क्षेत्रबिच सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले सञ्चार क्षेत्र र व्यावसायिक समुदायबिचको सहकार्यले उपभोक्ता हित संरक्षण तथा स्वस्थ बजार प्रणाली निर्माणमा सहयोग पुग्ने बताउनुभयो।

सङ्घका संस्थापक अध्यक्ष न्हुछे रत्न मानन्धरले सङ्घको स्थापना कालदेखि हालसम्मको यात्राबारे चर्चा गर्दै व्यवसायीहरूको साझा हित र अधिकार संरक्षणका लागि संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो।