भक्तपुर । डिएलए नेपालको भदौ १९ र २० गते बुटवलमा आयोजना हुने राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
प्रधानले बुटवलमा हुने महाधिवेशन संगठनको भविष्यको नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यसको सफल आयोजनाका लागि सम्पूर्ण सदस्य तथा प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
उनले आफू महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी गराउँदै संगठनलाई अझ सुदृढ, पारदर्शी, जिम्मेवार र सदस्यमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। संस्थागत विकास, अधिवक्ताहरूको पेशागत हकहितको संरक्षण, संगठनको प्रभावकारी विस्तार तथा देशभरका सदस्यबीच समन्वय र सहकार्यलाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ।
आगामी महाधिवेशनबाट सक्षम र दूरदर्शी नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै प्रधानले महासचिव पदका लागि आफ्नो उम्मेदवारीमा सम्पूर्ण प्रतिनिधि तथा सदस्यहरूको समर्थन र सहयोगको अपेक्षा गरेका छन्।















