ब्रोड पिक हिमपहिरो : दुई जनाको शव फेला, खराब मौसमका कारण आजको खोजी कार्य स्थगित

0
Dry snow avalanche with a powder cloud close to the village Terskol, Elbrus region

काठमाडौं — पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक क्षेत्रमा गएको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोज तथा उद्धार कार्य शुक्रबार खराब मौसमका कारण स्थगित गरिएको छ।

पाकिस्तान अल्पाइन क्लबका अनुसार शुक्रबार दिनभर खोजी तथा उद्धार प्रयास जारी रहे पनि प्रतिकूल मौसम र अन्धकारका कारण अभियान रोकिएको हो। क्लबले शनिबार बिहानदेखि पुनः खोजी कार्य सञ्चालन गरिने जनाएको छ।

क्लबका अनुसार हालसम्म दुई जनाको शव फेला परेको छ। मृतकहरूमा ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त) रहेका छन्।

बेपत्ता आरोहीहरूको खोजीलाई तीव्र बनाउन पाकिस्तानी सेनाका दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरिएको थियो। उच्च हिमाली क्षेत्रमा भइरहेका उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन हवाई तथा स्थलमार्गबाट समन्वयात्मक रूपमा काम भइरहेको पाकिस्तान अल्पाइन क्लबले जनाएको छ।

यसअघि शुक्रबार बिहानसम्म बेपत्ता आरोहीहरूको ट्र्याकरको लोकेसन ६ हजारदेखि ७ हजार मिटर उचाइबीच देखिएको जानकारी सार्वजनिक भएको थियो। तर प्रतिकूल मौसमका कारण उद्धार टोली उक्त स्थानसम्म पुग्न नसकेको बताइएको छ।

हिमपहिरोमा परेका १० जना आरोहीमध्ये विभिन्न नेपाली पर्वतारोहण कम्पनी एलिट एक्सपेड, सेभेन समिट ट्रेक्स र इम्याजिन नेपाल मार्फत गएका विदेशी तथा नेपाली आरोही रहेका छन्।

हालसम्म ८ जना अझै बेपत्ता छन्। बेपत्ताहरूमा पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।

उद्धार टोलीले मौसम अनुकूल भएलगत्तै शनिबार बिहानदेखि पुनः खोज तथा उद्धार अभियानलाई निरन्तरता दिने जनाएको छ।