अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन सार्वजनिक, न्यायिक पत्रकारिताका लागि महत्वपूर्ण स्रोत सामग्री

0

काठमाडौं — अदालती तथा न्यायिक पत्रकारितालाई थप व्यावसायिक, जिम्मेवार र प्रभावकारी बनाउन उद्देश्यले तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक गरिएको छ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश एवं सम्पादन तथा प्रकाशन समितिका संयोजक हरि फुयाँल, न्यायाधीश सुनील पोखरेल, नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रलगायतले संयुक्त रूपमा मार्गदर्शन पुस्तक सार्वजनिक गर्नुभयो।

कार्यक्रममा बोल्दै न्यायाधीश हरि फुयाँलले कानुनी पत्रकारिता पछिल्ला वर्षहरूमा गुणात्मक रूपमा विकास हुँदै गएको उल्लेख गर्दै मार्गदर्शनले अनुभवी पत्रकारलाई कानुनी विषयमा थप सचेत गराउने र नयाँ पुस्ताका पत्रकारलाई व्यावहारिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

“पहिला कानुनसम्बन्धी समाचार लेख्ने पत्रकारको संख्या निकै कम थियो, अहिले उल्लेख्य वृद्धि भएको छ,” उहाँले भन्नुभयो, “अदालतहरूले प्रवक्ता र सूचना अधिकारीको व्यवस्था गरेका छन् भने वेबसाइटमार्फत पनि सूचना उपलब्ध गराउने प्रणाली विस्तार हुँदै गएको छ, जसले पत्रकारलाई समाचार संकलनमा सहज बनाएको छ।”

उहाँले सूचना प्रविधिको विकाससँगै अदालतहरू अझ पारदर्शी बन्दै गएको र सूचना प्रवाहलाई प्रभावकारी बनाउने प्रयास निरन्तर भइरहेको बताउनुभयो।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले उक्त प्रकाशन कानुनी पत्रकारिताका साथै समग्र पत्रकारिता क्षेत्रका लागि पनि महत्वपूर्ण सन्दर्भ सामग्री हुने बताउनुभयो। अदालतसम्बन्धी समाचार लेख्न सामान्य कानुनी ज्ञान र पर्याप्त अध्ययन आवश्यक हुने उल्लेख गर्दै उहाँले यस्ता मार्गदर्शनले समाचारको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने धारणा राख्नुभयो।

मञ्चका पूर्वअध्यक्ष डा. लीलाधर उपाध्यायले पुस्तकले अदालती पत्रकारितालाई थप उत्तरदायी, तथ्यपरक र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

मञ्चका अध्यक्ष कालिका खड्काले करिब तीन वर्षको तयारीपछि मार्गदर्शन प्रकाशन गरिएको जानकारी दिँदै यसले अदालतसम्बन्धी समाचार लेख्ने पत्रकार तथा कानुनी पत्रकारिताको अध्ययन गर्न चाहने विद्यार्थी र अनुसन्धानकर्ताका लागि उपयोगी स्रोत सामग्रीका रूपमा काम गर्ने बताउनुभयो।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिसँगको सहकार्यमा तयार पारेको उक्त पुस्तक मञ्चका पूर्वअध्यक्ष डा. लीलाधर उपाध्याय र सर्वोच्च अदालतका शाखा अधिकृत राकेश बमले लेखन तथा सम्पादन गर्नुभएको हो।

पुस्तकमा नेपालको न्यायिक तथा अदालती पत्रकारिताको इतिहास, मिथ्या सूचना (फेक न्युज) पहिचान गर्ने विधि, अदालती बिटमा समाचार संकलन गर्दा अपनाउनुपर्ने संवेदनशीलता, अदालती पत्रकारिताका चुनौती, अदालतको अवहेलना सम्बन्धी कानुनी व्यवस्था, सर्वोच्च अदालतबाट प्रतिपादित महत्वपूर्ण नजिर तथा पत्रकारले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी विषय समेटिएका छन्।

यसका साथै नेपालको संवैधानिक व्यवस्था, विभिन्न तहका अदालत, अर्धन्यायिक निकाय, मुद्दाको प्रक्रिया, अदालतको मानव संसाधन व्यवस्थापन तथा अदालती समाचार लेख्दा ध्यान दिनुपर्ने व्यावसायिक मापदण्डसमेत मार्गदर्शनमा समावेश गरिएको छ।

कार्यक्रममा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष हरिशङ्कर निरौला, वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, नेपाल बार एसोसिएसनका महासचिव केदार कोइराला, विशेष अदालत बार एसोसिएसनका अध्यक्ष टीकाराम कुँवर, संसद् सचिवालयका पूर्वसचिव राजेन्द्र फुयाँल, तथा न्यायिक क्षेत्रका कानुन व्यवसायी, न्यायकर्मी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।