सुलिकोट। गोरखा जिल्लाका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा रोजगारलाई उच्च प्राथमिकतामा राख्दै आ–आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र चुमनुब्री गाउँपालिकाले विकास र समृद्धिको साझा लक्ष्यसहित बजेट ल्याएका हुन्।
पालुङटारद्वारा ७९ करोड ७९ लाखको बजेट प्रस्तुत
पालुङटार नगरपालिकाले आगामी वर्षका लागि ७९ करोड ७९ लाख ७९ हजार रुपियाँको बजेट ल्याउँदै कृषि तथा पशुपालन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर ३ रुपियाँ अनुदान दिने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, भूमि बैँक स्थापना गर्ने तथा सुन्तला र रैथाने बाली प्रवर्धन गर्ने कार्यक्रम अघि सारेको छ। शिक्षा क्षेत्रका लागि ३१ करोड ५९ लाख रुपियाँ र स्वास्थ्य क्षेत्रमा ८ करोड ९७ लाख रुपियाँ विनियोजन गरिएको छ।
गोरखा नगरपालिकाको बजेट १ अर्ब ३ करोड, ‘पृथ्वीनारायण रोड’ को योजना
यस्तै गोरखा नगरपालिकाले १ अर्ब ३ करोड २४ लाख ५० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। कृषि उत्पादनमा वृद्धि, पर्यटन विकास, रोजगार सिर्जना, स्वास्थ्य सेवा विस्तार तथा शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राखेर बजेट ल्याइएको हो। नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास, सडक तथा खानेपानी पूर्वाधार विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
ऐतिहासिक महत्त्व बोकेको गोरखाको पुरानो बसपार्कदेखि ठुलो आँगनसम्मको सडकलाई ‘पृथ्वीनारायण रोड’ (पिएन रोड) नामाकरण गर्ने योजना नगरपालिकाले अघि सारेको छ। यस सडकलाई सम्पदा तथा पर्यटन मार्गका रूपमा विकास गरी ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदासँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य लिइएको छ। यसबाट नगरको पर्यटन प्रवर्धन र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षासहित नीति तथा कार्यक्रममा यसलाई समावेश गरिएको छ।
बारपाक सुलिकोट र चुमनुब्रीको प्राथमिकता
बारपाक सुलिकोट गाउँपालिकाले कृषिको आधुनिकीकरण, पशुपालन प्रवर्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार, शैक्षिक सुधार तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाले स्थानीय उत्पादनमा वृद्धि, स्वरोजगार सिर्जना र पूर्वाधार विकासमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य लिएको छ।
उता उत्तरी क्षेत्रको चुमनुब्री गाउँपालिकाले ‘दिगो विकास, अनुपम संस्कृति र उन्नत पर्यटन, समृद्ध चुमनुब्री’ भन्ने दीर्घकालीन सोचसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले मनास्लु र चुम उपत्यका क्षेत्रको पर्यटन प्रवर्धन, स्याउ खेती विस्तार, जडीबुटी उत्पादन, चौँरी तथा भेडापालन, ग्रामीण सडक तथा पुल निर्माण, इन्टरनेट सेवा विस्तार र स्वास्थ्य एवं शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ। बजेटमा मनास्लु स्याउ ब्रान्डिङ विकास, ग्रामीण आँखा केन्द्र स्थापना, विद्यार्थी छात्रवृत्ति तथा स्थानीय पाठ्यक्रम कार्यान्वयन जस्ता कार्यक्रमहरू समेटिएका छन्।
चारवटै स्थानीय तहले सङ्घीय र प्रदेश सरकारको अनुदानसँगै आन्तरिक स्रोत परिचालनमार्फत विकास निर्माणलाई गति दिने प्रतिबद्धता जनाएका छन्। कृषि उत्पादनमा वृद्धि, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, पर्यटन प्रवर्धन, रोजगारी सिर्जना र दिगो पूर्वाधार निर्माणमार्फत नागरिकको जीवनस्तर उकास्ने साझा सङ्कल्प बजेटमा देखिन्छ। स्थानीय तहहरूले आगामी आर्थिक वर्षलाई उत्पादन, रोजगारी र सेवा प्रवाह सुधारको वर्षका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।















