दोलखा । शैलुङ गाउँपालिकाको गाउँसभाको २०औँ अधिवेशन विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।
गाउँपालिकामा २०८३ असार ९ गते सम्पन्न अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम, आर्थिक विधेयक–२०८३, विनियोजन विधेयक–२०८३ तथा विषयगत समितिहरूका प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गरिएको गाउँपालिकाले जनाएको छ।
अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु. ६१ करोड ६० लाख ७९ हजार बराबरको वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
स्वीकृत बजेटमार्फत गाउँपालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, रोजगार प्रवर्द्धन तथा सामाजिक सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, दिगो विकास, सुशासन प्रवर्द्धन तथा जनमुखी सेवा प्रवाहलाई विशेष प्राथमिकता दिएको जनाइएको छ।
अधिवेशनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँसभा सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि स्वीकृत नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्ने र समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।















