भक्तपुर । भक्तपुर र ललितपुरको पहाडी सिमानामा अवस्थित काशी विश्वेश्वरनाथ मन्दिर परिसरमा ३०५ वर्ष पुरानो शिलालेख फेला परेको छ। अभिलेखमा विक्रम संवत् १७७८ उल्लेख छ। यससँगै पुस्तकमा उल्लेख भएर पनि फेला पार्न नसकिएको अर्को पुरानो शिलापत्र र मन्दिर परिसरका ऐतिहासिक प्रस्तर मूर्तिबारे समेत चासो बढेको छ।
भक्तपुरको दक्षिणपूर्वी र ललितपुरको उत्तरपूर्वी पहाडी सिमानामा पर्ने रिसाल डाँडास्थित ढिकस्पाखामा रहेको काशी विश्वेश्वरनाथ मन्दिर सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिकाको सीमाक्षेत्रमा अवस्थित छ। हाल मन्दिर परिसरमा स्थापित शिलालेखको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे स्थलगत अध्ययन भइरहेको छ।
इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठद्वारा लिखित ‘अनन्तलिङ्गेश्वर (एक सांस्कृतिक अध्ययन)’ पुस्तकको वि.सं. २०६४ मा प्रकाशित संस्करणको पृष्ठ ११४ मा यस मन्दिरसँग सम्बन्धित पुरानो शिलापत्रको प्रसङ्ग उल्लेख छ। पुस्तकमा उक्त शिलापत्रका अक्षर खिइएकाले पढ्न कठिन रहेको र सम्भवतः लिच्छवि लिपिमा रहेको चर्चा गरिएको छ। स्थानीयका अनुसार लामाटार वडा नं. ५ का एक व्यक्तिले उक्त शिलापत्र घरमा लगेको भनाइसमेत पुस्तकमा उल्लेख छ। लेखकले खोजी गर्दा पनि उक्त शिलापत्र फेला पार्न नसकेको जनाइएको छ।
अहिले मन्दिर परिसरमा रहेको विक्रम संवत् १७७८ को शिलालेख पुस्तकमा उल्लेखित त्यही शिलापत्र हो वा फरक अभिलेख हो भन्ने प्रश्न भने अझै अनुत्तरित छ। यस विषयमा थप अध्ययन र तुलनात्मक विश्लेषण आवश्यक देखिएको छ।
सोही पुस्तकमा काशी विश्वेश्वरसँग सम्बन्धित पगरी र जामा लगाएको, घुँडा टेकेर विन्तीभावमा रहेको भक्तको प्रस्तर सालिग (चित्र ७५-क) समेत उल्लेख छ। उक्त प्रस्तर सालिगको स्वरूप, पहिचान र धार्मिक–सांस्कृतिक महत्त्वबारे थप अध्ययन गर्न सके मन्दिरको इतिहाससँग जोडिएका थप तथ्य उजागर हुन सक्ने सम्भावना छ। यस क्षेत्रका पुराना इनारका कारण वन क्षेत्रलाई ‘ओपी वन’ भन्न थालिएको प्रसङ्गसमेत पुस्तकमा उल्लेख गरिएको छ।
मन्दिर तथा शिलालेखको स्थलगत अध्ययनमा इतिहास र संस्कृतिमा रुचि राख्ने लुभुका शिक्षक प्रकाश थापा, सिरूटार निवासी लेखक ईश्वर बुढाथोकी, ताथली निवासी सञ्चारकर्मी हरिसुन्दर छुकां र कटुञ्जे निवासी समाजशास्त्री सुरेश बखुन्छें सहभागी थिए।
अध्ययनका क्रममा अभिलेखमा उल्लेखित संवत् र प्रयोग भएको लिपिले केही महत्त्वपूर्ण ऐतिहासिक प्रश्नसमेत उठाएका छन्। अधिकांश मल्लकालीन अभिलेखमा नेपाल संवत् उल्लेख भएको पाइने भए पनि हाल प्राप्त शिलालेखमा विक्रम संवत् उल्लेख हुनुले यस क्षेत्रको तत्कालीन अभिलेखीय परम्पराको थप अध्ययन गर्नुपर्ने देखिएको छ।
यद्यपि भक्तपुर दरबार परिसरभित्र रहेको तलेजु मन्दिरको उत्तरपूर्वमा अवस्थित कलात्मक ढुङ्गेधारामा नेपाल संवत्, शक संवत् र विक्रम संवत् गरी तीनवटै संवत् उल्लेख भएको उदाहरण पनि छ। नेपालमा चन्द्रशमशेरको इख्तियारपछि नेपाल संवत्को सट्टा विक्रम संवत् सरकारी कामकाजमा प्रचलनमा आएको मानिँदै आएको सन्दर्भमा मल्लकालीन अभिलेखमै विक्रम संवत् उल्लेख हुनुले संवत्को प्रयोग र प्रचलनबारे थप अनुसन्धानको ढोका खोलेको छ। त्यस्तै, अधिकांश मल्लकालीन अभिलेख प्रचलित स्थानीय लिपि तथा नेपाल भाषामा पाइने गरेकोमा हाल प्राप्त अभिलेख देवनागरी लिपिमा हुनु पनि अध्ययनको अर्को महत्त्वपूर्ण पक्ष हो। यसले अभिलेखको मिति, भाषा, लिपि र तत्कालीन सामाजिक–सांस्कृतिक परिवेशबीचको सम्बन्धबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको छ।
अध्ययन टोलीका सदस्य एवं समाजशास्त्री सुरेश बखुन्छेंले अभिलेखमा देखिएका यी भिन्नतालाई सामान्य रूपमा लिन नहुने बताएका छन्। उनले भने, “प्रायः मल्लकालीन अभिलेख नेपाल संवत्, स्थानीय लिपि र नेपाल भाषामा पाइने गरेकोमा यस अभिलेखमा विक्रम संवत् र देवनागरी लिपि देखिनु अध्ययनको महत्त्वपूर्ण विषय हो। यसलाई हल्का रूपमा लिएर निष्कर्षमा पुग्नु हुँदैन। प्रामाणिक तथ्य, इतिहास र तत्कालीन सामाजिक–सांस्कृतिक पक्षसँग दाँजेर बृहत् अध्ययन तथा छलफल गर्न आवश्यक छ।”
उनका अनुसार यस क्षेत्रमा पुस्तकमा उल्लेखित पुरानो शिलापत्र, हाल प्राप्त अभिलेख र भक्तको प्रस्तर सालिगबीचको ऐतिहासिक सम्बन्ध पहिल्याउन सके मन्दिरको इतिहासबारे नयाँ तथ्य पत्ता लाग्न सक्छन्। भक्तपुर र ललितपुरको सिमानामा रहेको यस मन्दिर परिसरमा भेटिएको अभिलेखले स्थानीय इतिहासका कैयौँ अनुत्तरित प्रश्नलाई पुनः सतहमा ल्याएको छ। ढुङ्गामा कुँदिएका अक्षरको सूक्ष्म अध्ययन, पुस्तकमा उल्लिखित विवरणसँगको तुलनात्मक विश्लेषण, प्रस्तर सालिग तथा अन्य मूर्तिको लक्षण अध्ययन र स्थानीय मौखिक इतिहासको खोज गर्न सके यस क्षेत्रको मल्लकालीन धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनका महत्त्वपूर्ण पाटाहरू उजागर हुन सक्छन्।
अध्ययन टोलीका सदस्यहरूका अनुसार अभिलेखको अध्ययन जारी छ र थप तथ्यहरू पत्ता लाग्ने अपेक्षा गरिएको छ। अहिले पुनः पहिचानमा आएको यो अभिलेख एउटा पुरानो लेखोट मात्र नभई समयसँगै ओझेलमा परेको इतिहासको खोजी गर्ने महत्त्वपूर्ण आधार बनेको छ। पुस्तकमा उल्लेख भएर पनि हराएको भनिएको शिलापत्रको वास्तविकता, हाल प्राप्त अभिलेखको ऐतिहासिक पृष्ठभूमि र मन्दिर परिसरमा रहेका प्रस्तर मूर्तिको पहिचानले आगामी दिनमा यस क्षेत्रको इतिहासको नयाँ अध्याय खोल्न सक्ने सम्भावना छ।