‘मेरा हात सफा छन्, म कमजोर नैतिक धरातलमा छैन’ : गगन थापा

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी कानुनी लडाइँमा कुनै पनि प्रकारको आर्थिक लेनदेन वा अनुचित काम नगरेको स्पष्ट पारेका छन्। बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोमा आफ्नो नाम जोडिएको विषयमा भिडियो सन्देश जारी गर्दै थापाले आफू नैतिक रूपमा कमजोर धरातलमा नरहेको दाबी गरेका हुन्।

‘ढुक्क हुनुहोस्, म गगन थापा– तपाईंको दाइ, भाइ, छोरा, साथी र सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘मेरा पक्षमा ढुक्कले बोल्नुहोस्।’

थापाले यस विषयमा आफूलाई अनावश्यक प्रश्न गर्नुभन्दा सम्बन्धित पक्षसँग सही प्रश्न गर्न पनि आग्रह गरेका छन्। ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ,’ उनले भने।

इनम सापकोटाले सार्वजनिक अडियोमा करोडौँ रुपैयाँको विषय उठाएको सन्दर्भमा थापाले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी कानुनी प्रक्रियामा कुनै आर्थिक लेनदेन नभएको दाबी गरे। ‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिकताको कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम गरेको छैन, भएको छैन,’ उनले स्पष्ट पारे।

आफ्नो नाम जोडेर सार्वजनिक भएको अडियोका विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्नो नैतिकता र स्वच्छतामाथि विश्वास गर्न समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।