दशौँ राष्ट्रिय खेलकुदका लागि भक्तपुरका ६ कराते खेलाडी छनोट

0
भक्तपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशबाट भक्तपुरका ६ जना कराते खेलाडी छनोट भएका छन्।

बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै भक्तपुरका खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा पदक हासिल गरेपछि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्।

छनोट भएका खेलाडीहरूमध्ये कातातर्फ पुरुष विधामा असिम यन्डोले तृतीय स्थान हासिल गरेका छन्। त्यसैगरी, ४५ केजी तौल समूहमा अस्मिता तामाङ द्वितीय, ६१ केजीमा युनियन उप्रेती तृतीय, ६८ केजीमा विनिता थिङ द्वितीय र ८४ केजी तौल समूहमा रोज कर्मचारी तृतीय भएका छन्।

त्यस्तै, ५० केजी तौल समूहमा सिरुसा भुजुले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेकी छन्। प्रतियोगितामा भक्तपुरबाट सहभागी खेलाडीहरूको टोली प्रशिक्षकमा विजय राम यन्डो र टोली व्यवस्थापकमा सची बनेपाली रहेका छन्।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा पदक हासिल गर्दै राष्ट्रिय प्रतियोगिताका लागि स्थान सुरक्षित गर्न सफल खेलाडीहरूले भक्तपुरको खेलकुद क्षेत्रको प्रतिनिधित्व गर्ने भएका छन्।