जापानीज इन्सेफ्लाइटिस मधेशमा फैलँदै, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

0

जनकपुरधाम । प्राणघातक जापानीज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण मधेश प्रदेशमा तीव्र रूपमा फैलँदै गएको छ। सर्लाहीबाहेक मधेशका सबै जिल्लामा सङ्क्रमण देखिएको छ भने भदौ ५ गतेसम्म सात जिल्लाका १५ पालिकामा १९ जनामा जेई पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। यो कुल सङ्क्रमितको करिब ३२ प्रतिशत हो।

सप्तरी सबैभन्दा बढी प्रभावित जिल्लाका रूपमा देखिएको छ। राजगढ, तिलाठी कोइलाडी, डाक्नेश्वरी र महदेवा क्षेत्रमा गरी ६ जनामा सङ्क्रमण पुष्टि भएकामा दुई जनाको मृत्यु भएको छ। पर्सामा चारमध्ये दुई, धनुषामा तीनमध्ये एक र रौतहटमा एक जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

महोत्तरीको बर्दिबास, औरही र सम्सी क्षेत्रमा तीन तथा सिरहाको धनगढीमाई नगरपालिका र बारामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ। केही सङ्क्रमितको उपचार भइरहेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार उपचारपछि घर फर्किएका केही बिरामीमा समेत बोल्न तथा खाना खान कठिन हुने, मानसिक अवस्था सुस्त हुनेलगायत दीर्घकालीन स्वास्थ्य समस्या देखिएको छ।

खोपबाट जेईको जोखिम न्यूनीकरण गर्न सकिने भए पनि सङ्क्रमण रोकिएको छैन। स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर लक्ष्मेश्वर झाका अनुसार नियमित खोप अभियानअन्तर्गत करिब ९५ प्रतिशत बालबालिकाले जेई खोप पाएका छन्। खोप नलिएका तथा खोप लगाउने उमेर पार गरिसकेका व्यक्तिमा सङ्क्रमण र मृत्युदर बढी देखिएको उहाँको भनाइ छ।

सङ्क्रमण बढेपछि स्वास्थ्य निर्देशक सरोजराज न्यौपानेको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, खोप सुपरभाइजरलगायतको टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी सङ्क्रमणको अवस्था र नियन्त्रणका उपायबारे जानकारी लिइरहेको छ।

स्वास्थ्यकर्मीहरूले नियमित खोप लगाउन, घरवरपर पानी जम्न नदिन, राति सुत्दा झुल प्रयोग गर्न, शरीर ढाकिने कपडा लगाउन तथा हाँस र सुँगुर–बङ्गुरका खोर बस्तीभन्दा टाढा राख्न आग्रह गरेका छन्।

उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने, शरीरमा ऐठन वा झट्का लाग्ने तथा मानसिक अवस्थामा परिवर्तन हुनेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

यसैबीच, मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई जेईको रोकथाम तथा नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ। स्थानीय तहसँग समन्वय गरी जनचेतना, खोपको पहुँच र प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले निर्देशन दिएको हो।

परिवार कल्याण महाशाखाको साउन मसान्तसम्मको प्रतिवेदनअनुसार देशभर ५८ जनामा प्रयोगशाला परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस पुष्टि भइसकेको छ। तीमध्ये १६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरूले जेईको जोखिम कायमै रहेकाले खोप लगाउन, लामखुट्टेको टोकाइबाट बच्न र लक्षण देखिए तत्काल उपचारमा जान सर्वसाधारणलाई आग्रह गरेका छन्।