हेटौँडा । बागमती प्रदेशसभाको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने भएको छ। बैठक मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको हो।
सोमबार साँझ ८ बजेका लागि निर्धारण गरिएको बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेकाले सुरुमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले बैठक साँझ ५ बजेका लागि सारेको थियो।
५ बजे पनि बैठक बस्न नसकेपछि पुनः राति ८ बजेका लागि समय निर्धारण गरिएको थियो। तर उक्त समयमा समेत बैठक बस्न नसकेपछि विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले बैठक मंगलबार अपराह्न ४ बजे बस्ने गरी समय परिवर्तन गरेको हो।
बैठक प्रभावित हुनुको प्रमुख कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको विवाद रहेको बताइएको छ। साथै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टिले समेत प्रदेशसभा बैठक प्रभावित भएको जनाइएको छ।
मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिने विषयमा राप्रपाको समर्थन महत्वपूर्ण रहेकाले पार्टीभित्रको विवादका कारण विश्वासको मतसम्बन्धी प्रक्रिया अन्योलमा परेको हो। मंगलबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढ्ने वा नबढ्ने विषयसमेत राजनीतिक सहमतिमा निर्भर रहने देखिएको छ।















