हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन सांसदलाई सोमबार पदमुक्त गरेको छ।
पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लङ्घन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित विज्ञप्तिमा केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय भएको उल्लेख छ।
तीन सांसदलाई पदमुक्त गरिएको जानकारीसहितको पत्र सोमबार बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंलाई बुझाइएको छ। उक्त पत्र प्रदेशसभा सचिवालयमा समेत दर्ता भएको जनाइएको छ।
यसअघि राप्रपा केन्द्रले बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको थियो। तर राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्णयविपरीत एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्नुभएको थियो। त्यसपछि राप्रपाका तीन सांसद प्रदेश सरकारमा सहभागी भएका थिए।
यसैबीच बागमतीका मुख्यमन्त्री किरण थापा मगरले सोमबार राति ८ बजे प्रदेशसभामा विश्वासको मत लिने तय भएको कार्यसूची मंगलबार साँझ ४ बजेसम्मका लागि सारिएको छ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषय तथा पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको विषयलाई लिएर राप्रपाभित्र बागमतीमा विवाद चर्किँदै आएको थियो। तीन सांसदलाई पदमुक्त गर्ने निर्णयसँगै उक्त विवाद थप सतहमा आएको छ।















