गणेशमान सिंहको जीवन र सङ्घर्षमा आधारित ‘वीर गणेशमान’ भदौ १४ देखि मञ्चन हुने

0

काठमाडौँ । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व लौहपुरुष गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग र निष्ठामा आधारित ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।

गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा तयार भएको नाटक आगामी असोज १४ गतेसम्म मञ्चन हुनेछ। नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गर्नुभएको हो।

निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा पनि हो।

आफ्नो पाँच दशक लामो नाट्य यात्रामा यस्तो यथार्थपरक नाटक पहिलोपटक निर्देशन गर्न लागेको बताउँदै मल्लले आफ्नो नियमित बिम्ब र प्रतीकसँग खेल्ने अभ्यासभन्दा यो प्रस्तुति फरक रहेको बताउनुभयो। उहाँका अनुसार निष्ठावान् र सच्चरित्र योद्धा गणेशमान सिंहको व्यक्तित्वको अर्को आयाम दर्शकसमक्ष प्रस्तुत गर्ने प्रयास नाटकमा गरिएको छ।

नाटकमा निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले गर्नुभएको सङ्घर्ष, उहाँको जेल जीवन तथा छ फिट अग्लो जेलको पर्खाल नाघेर गर्नुभएको साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिनेछ।

प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डको समेत पर्वाह नगरी निरन्तर सङ्घर्ष गर्नुभएका सिंहको त्याग र अडिग निष्ठालाई रङ्गमञ्चमार्फत जीवन्त बनाउने प्रयास नाटकले गर्ने निर्देशक मल्लले बताउनुभयो।

त्यस्तै, २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएपछि गणेशमान सिंहले प्रधानमन्त्री पदसमेत अस्वीकार गर्नुभएको घटनालाई नाटकमा समेटिएको छ। व्यक्तिगत स्वार्थ, परिवार, पार्टी र सत्ताभन्दा माथि देश र जनतालाई राख्ने उहाँको राजनीतिक दर्शनलाई नाटकले उजागर गर्नेछ।

विगत ४५ वर्षदेखि नेपाली रङ्गमञ्चमा निरन्तर सक्रिय सर्वनामले तत्कालीन पञ्चायती व्यवस्था र निरङ्कुशताविरुद्ध सडक नाटकमार्फत जनचेतना जगाउँदै आएको छ।

‘वीर गणेशमान’ ले गणेशमान सिंहको राजनीतिक जीवनसँगै उहाँको त्याग, साहस, निष्ठा र देशप्रतिको समर्पणलाई नयाँ पुस्तासम्म पुर्‍याउने अपेक्षा गरिएको छ।