भक्तपुर । ओखलढुंगा समाज सेवा समितिको आयोजनामा भक्तपुरमा ओखलढुंगाको परम्परागत लाखे नाच तथा रोपाइँ जात्रा प्रदर्शन गरिएको छ।
भक्तपुरको सिद्धपोखरी परिसरमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ओखलढुंगाबाट आएको सांस्कृतिक टोलीलाई खादा ओढाएर स्वागत गर्नुभयो।
सो अवसरमा नगर प्रमुख प्रजापतिले सांस्कृतिक सहर भक्तपुरमा ओखलढुंगाको सांस्कृतिक प्रस्तुतिले यहाँको सांस्कृतिक वातावरणलाई थप जीवन्त बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भाषा र संस्कृति नै समुदायको पहिचान भएकाले यसको संरक्षण गर्नु भक्तपुर नगरपालिकाको प्रमुख कार्यमध्ये एक भएको बताउनुभयो।
संस्कृतिको माध्यमबाट भक्तपुर र ओखलढुंगाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै उहाँले सांस्कृतिक आदानप्रदानले दुई जिल्लाबीचको आत्मीयता बढाउन सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का अध्यक्ष श्यामकृष्ण खत्रीले पनि मन्तव्य राख्नुभएको थियो।
ओखलढुंगा सेवा समाजका अध्यक्ष बर्मलाल राजभण्डारीले भक्तपुरमा स्वागत तथा सत्कार गरेकोमा धन्यवाद व्यक्त गर्दै सांस्कृतिक आदानप्रदानको सिलसिलामा ओखलढुंगाको परम्परागत संस्कृति प्रस्तुत गर्न भक्तपुर आएको बताउनुभयो।
कार्यक्रममा ओखलढुंगाको मौलिक लाखे नाच तथा रोपाइँ जात्राको प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरञ्जनसँगै ओखलढुंगाको मौलिक कला, संस्कृति र परम्परासँग परिचित गराएको थियो।















