वालिङ, स्याङ्जा। किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन ढुवानीको समस्या झेल्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यसहित वालिङ नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। अब किसानको घर–आँगनबाटै कृषि उपज संकलन गरी बजारसम्म पुर्याइने भएपछि उत्पादनको बजारीकरण थप सहज हुने अपेक्षा गरिएको छ।
वालिङ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र दियालो संस्था (वालिङ कृषि विकास परियोजना) को साझेदारीमा ३२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरिएको कृषि एम्बुलेन्स वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई हस्तान्तरण गरिएको हो। यसमध्ये नगरपालिकाले १८ लाख ९० हजार रुपैयाँ र परियोजनाले १४ लाख रुपैयाँ लगानी गरेका छन्।
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्यले सेवा सुरु गरिएको जानकारी दिए।
उनले भने, “कृषि उत्पादनलाई खेतदेखि बजारसम्म जोड्ने यो सेवा किसानमैत्री कार्यक्रम हो। अब किसानले उत्पादन बिक्रीका लागि ढुवानीको चिन्ता गर्नुपर्ने अवस्था रहने छैन।”
हाल त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ। कृषि एम्बुलेन्स सञ्चालनपछि किसानको घरबाटै उत्पादन संकलन गरिने भएकाले ढुवानी खर्च घट्ने, समय बचत हुने र ताजा तरकारी बजारसम्म छिटो पुग्ने विश्वास गरिएको छ।
सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालका अनुसार ढुवानी अभावका कारण वर्षौंदेखि किसानले भोग्दै आएको समस्या अब समाधान हुने अपेक्षा गरिएको छ।
उनले भने, “पहिले ढुवानीको अभावमा धेरै तरकारी कुहिन्थ्यो र बजारसम्म पुर्याउन कठिन हुन्थ्यो। अब कृषि एम्बुलेन्समार्फत पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी पठाउन सक्ने अवस्था बनेको छ।”
वालिङ नगरपालिकाले कृषि उत्पादनको प्रवर्द्धनका लागि न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो ५ रुपैयाँ अनुदान पनि उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षको ११ महिनामा मात्रै ७ लाख ९१ हजार ३४२ रुपैयाँ नगद अनुदान किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ।
सहकारीका प्रवन्धक युवराज रेग्मीका अनुसार गत वर्ष सहकारीमार्फत १ लाख ५८ हजार २६८ केजी तरकारी संकलन भएको थियो। कृषि एम्बुलेन्सले एकपटकमा करिब १३० क्यारेट तरकारी ढुवानी गर्न सक्ने क्षमता राख्छ।
उनका अनुसार यस सेवाले ढुवानी लागत घटाउनुका साथै किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ थप आकर्षित गर्नेछ।
हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले कृषि एम्बुलेन्स सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति शृङ्खला अझ सुदृढ हुने बताए। उनका अनुसार यसले विशेषगरी साना तथा व्यावसायिक किसानको बजार पहुँच विस्तार गर्दै आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कृषि उत्पादनलाई खेतबाट सीधै बजारसँग जोड्ने यो पहलले वालिङका किसानलाई ढुवानी सहजता, उत्पादनको उचित मूल्य र व्यावसायिक कृषि विस्तारमा नयाँ अवसर प्रदान गर्ने विश्वास गरिएको छ।















