भक्तपुर । भक्तपुर बार एसोसिएसनको आयोजनामा ‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ साउन ९ र १० गते भक्तपुरको बालकोटस्थित भ्याली फुटसल एरेनामा हुने भएको छ। कानुन व्यवसायीबीच आपसी सम्बन्ध, मित्रता र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका बार एसोसिएसन, जिल्ला अदालतका टोली तथा कानुनी सेवा र कानून फर्म गरी १४ टोली सहभागी हुनेछन्। टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा भक्तपुर बार एसोसिएसन (ए), इजी लिगल सर्भिस, काठमाडौं बार एसोसिएसन (ए) र संकल्प लिगल सर्भिसेज छन्।
समूह ‘बी’ मा काठमाडौं जिल्ला अदालत, काठमाडौं बार एसोसिएसन (बी) र नेपाल न्याये छन्।
समूह ‘सी’ मा ललितपुर जिल्ला अदालत, भक्तपुर जिल्ला अदालत, प्यारामाउन्ट ल फर्म र ललितपुर बार एसोसिएसन रहेका छन्।
समूह ‘डी’ मा भक्तपुर बार एसोसिएसन (बी), काठमाडौं बार एसोसिएसन (सी) र काभ्रे बार एसोसिएसन छन्।
साउन ९ गते बिहान ११ बजेदेखि लिग चरणका खेलहरू सञ्चालन हुनेछन्। सोही दिन दिउँसो ३ बजेदेखि क्वार्टरफाइनलका खेल हुनेछन्। साउन १० गते सेमिफाइनल, तेस्रो स्थानका लागि प्रतिस्पर्धा र फाइनल खेल आयोजना गरिने तालिका सार्वजनिक गरिएको छ।
आयोजकका अनुसार लिग चरणका खेल २ हाफमा ७–७ मिनेट तथा नकआउट चरणका खेल २ हाफमा १०–१० मिनेटका हुनेछन्।
भक्तपुर बार एसोसिएसनले प्रतियोगिताले कानुन व्यवसायीहरूबीचको सहकार्य, आपसी सद्भाव र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।















