मंसिर २९ गतेदेखि दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप हुने

5

दमौली/२३, मंसिर
व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबको आयोजनामा दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले बिहीबार पत्रकार सम्मेलन गरी यही मंसिर २९ गतेदेखि व्यास–३ विपी वनवाटिका खेलमैदान प्रतियोगिता गर्ने जनाएको हो ।
क्लबलाई चलायमान बनाउनुका साथै युवालाई खेलतर्फ क्रियाशील बनाएर जिल्लाकै लागि दक्ष र क्षमतावान खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नलबहादुर दरैले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका विजेतालाई दुई लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेतालाई एक लाख १५ हजार ५५५ रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई ७ हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार ५ सय र सर्वाधिक गोलकर्तालाई ५ हजार र म्यान अफ दी म्याचलाई एक हजार ५ सय रुपैयाँ प्रदान गरिने सचिव सुमन बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तनहुँ लगायत देशैभरबाट खेलाडीको सहभागिता रहनेछ । मंसिर २८ गतेसम्म टिम दर्ता गर्न सकिने क्लबले जनाएको छ ।