म्याग्देमा ६ महिनामा १५ कानुन निर्माण

9

दमौली/२३, मंसिर
म्याग्दे गाउँपालिकाले ६ महिनामा १५ वटा कानुन निर्माण गरेको छ । गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी ६ महिनाको कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा ३ वटा ऐन र १२ वटा कार्यविधि गरी १५ वटा कानुन निर्माण गरेको जनाएको हो ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सपथ गरेको दिन जेठ १० देखि मंसिर १० गतेसम्म छ महिनाको अवधिमा पालिकाद्वारा सम्पादित मुख्य मुख्य कार्यहरु पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस अवधिमा गाउँपालिकाको १२औं गाउँसभा बैठक, गाउँसभाले बजेट सहित नीति र ६२ वटा निर्णय गरेको तथा कार्यपालिकाका १२ बैठकमार्फत् १५६ वटा निर्णय गरिएको छ ।
यसबीचमा न्यायिक समिति, लेखा समिति, सुशासन समिति लगायतका ६ वटा विषयगत समिति सहित ९ वटा समिति गठन गरी नियमित बैठक र आवश्यक समन्वय तथा सहकार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार क्षमता विकासतर्फ जनप्रतिनिधि र कर्मचारी सहित ७० जनालाई योग सहितको क्षमता विकास प्रशिक्षण, उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण प्रदान गरिएको छ भने ८ जना करार कर्मचारी नियुक्ती गरिएको छ ।
त्यस्तै वडा नं.६ र ७ को वडा कार्यालय भवन निर्माण सम्पन्नसँगै पालिकाका सबै वडा भवन निर्माण सम्पन्न भई सहज र द्रुत रुपमा नागरिकलाई सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
ल्याण्ड फिल्ड साइट निर्माण कार्य अन्तर्गत पहिलो ठेक्काको काम अन्तिम चरणमा पुगी दोस्रो ठेक्का प्रारम्भ भएको, चिस्यान केन्द्र ठेक्का सम्झौता भएको, १० करोडको लगानीमा १० शैय्याको थर्पु आधारभूत अस्पताल निर्माणधीन अवस्थामा रहेको लगायतका योजना कार्यान्वयन तथा ठेक्का व्यवस्थापनतर्फ गाउँपालिकाले उल्लेख्य प्रगती गरेको जनाइएको छ ।
प्रभावकारी ढंगले पालिकाका विभिन्न कार्य सम्पादन गर्न अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी बीच कार्य सम्पादन सम्झौता समेत भइसकेको छ ।
सामुदायिक विद्यालयमा बस खरिदका लागि ४० प्रतिशत अनुदान, स्यानीयलाई भेटेरिनरी जेटिए अध्यययनका लागि ५० प्रतिशत छात्रबृत्ति अनुदान, अध्यक्षसँग सुत्केरी पोषण भत्ता तथा उपाध्यक्षसँग विदुर र ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई भत्ता, हल गोरु पाल्नेलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान, कृषकलाई दुधमा अनुदान, अध्यक्ष र उपाध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम लगायतको महत्वपूर्ण निर्णय सहितका कार्यक्रमहरुको कार्य थालनी भइसकेको पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।
पालिकाले वडा नं.३ किल्चोक सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ९ आना २ पैसा १ दाम र वडा नं.७ मा मानवमैत्री भवन निर्माणका लागि ६ आना जग्गा व्यक्तिमार्फत गाउँपालिकाको नाममा निःशुल्क राजीनामा पास गराइएको उपाध्यक्ष घिमिरेले बताए । उनका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी १३०३ जनाको निवेदन सबै इन्ट्री गरी बाँकी कामहरु अगाडि बढाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार पालिकाले भूमि वर्गीकरण कार्यक्रमअन्तर्गत कृषि तथा गैरकृषि जग्गाको वर्गीकरण सम्पन्न गरिसकेको छ । प्रत्येक वडाको डिजिटल नक्सा सहित भू उपयोग नीतिमा रहेर १८ चरणको प्रक्रिया अवलम्बन गरी मिहिन ढङ्गले जग्गा वर्गीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
बेरुजु न्युन हुने तथा बजेट फ्रीज कम हुने गरी कार्य प्रारम्भ गरेको जानकारी दिदै अधिकारीले ठेक्का लगाएको घाटबाट नदी उत्खनन गर्ने ६ वटा ठेकेदार कम्पनी र चोक्रेटार घाटबाट चोरी गर्नेलाई दण्ड जरिवाना गरी ३४ लाख ४३ हजार ९ सय ६१ रुपैयाँ असुल गरिएको बताए ।
पालिकाले सामाजिक सुरक्षा भत्ता नलिने नागरिकलाई पुरस्कृत गर्ने गरी सार्वजनिक सूचना प्रकाशन गरी निवेदन आह्वान गरेको बताइएको छ । आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमअन्तर्गत ५५ कृषकलाई करिब १२० रोपनी क्षेत्रफलको धानमा लागेको किरा नियन्त्रणका लागि विषादी वितरण तथा १६ हजार ६ सय ५० किलो आलु ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा वडा नं १ का वडा अध्यक्ष मणिभद्र वाग्ले, वडा नं ७ का वडा अध्यक्ष वसन्त श्रेष्ठ, पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।