रामचन्द्रजीलाई धेरै मत दिएर जिताउनुस्, कार्यकारी पदमा पुर्याउने जिम्मा हामी लिन्छौं : प्रचण्ड

13

२८ कार्तिक, डुम्रे । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अत्याधिक मतले विजयी गराउन तनहुँवासीलाई आग्रह गरेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रेमा सोमवार आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पौडेललाई धेरै मत दिएर जिताए मुलुकको कार्यकारी पदमा पु¥याउने वताए । ‘रामचन्द्रजीलाई धेरै मत दिएर जिताउनुस्, कार्यकारी पदमा पु¥याउने जिम्मा हामी लिन्छौं’, दाहालले भने । उनले गठवन्धनका खम्बा वरिष्ठ नेता पौडेललाई जिताएर पठाए प्रधानमन्त्री बनाउने संकेत थियो । उनले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको स्पष्ट पारे । अध्यक्ष दाहालले नेपाललाई नयाँ युगमा लैजाने सङ्कल्पसहित गठबन्धन निर्माण भएको वताए ।
“यसपटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रूपमा सम्पन्न हुँदैछ”, उनले भने । संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको अध्यक्ष दाहालको भनाइ थियो ।
“घटनाक्रमको विकास लामो सङ्घर्षबाट प्राप्त उपलब्धि प्रहार गर्नेतिर भयो, जसलाई प्रधानमन्त्रीका रूपमा अगाडि सा¥यौँ, उनले नै संविधानमाथि प्रहार गर्ने काम गरे”, अध्यक्ष दाहालले भने । तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै अध्यक्ष उनले जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको वताए ।
उनले नेकपा (एमाले) लाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको वताए । “संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो ? भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ”, उनले भने । २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई तिहाइ नजिक स्थान जितेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई तहसनहस पारि संविधान माथिनै प्रहार गर्ने दललाई नेपाली जनताले भोट नहाल्ने अध्यक्ष दाहालको भनाई थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रसरतामा गठबन्धन निर्माण भएको उनको भनाई थियो । कार्यक्रममा गठवन्धनका तर्फबाट तनहुँ क्षेत्र नं १ (१) का साझा उम्मेदवार कांग्रेस नेता अशोक कुमार श्रेष्ठले जिल्लामा अनुभूति गर्ने गरि विकासको वहार ल्याउन गठवन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए । काम गरेरै तनहुँका जनताको मन जित्ने श्रेष्ठले वताए । त्यस्तै गठवन्धनका तर्फबाट तनहुँ क्षेत्र नं १ (२) का उम्मेदवार हरि बहादुर चुमानले संविधान र लोकतन्त्र वचाउने गठवन्धनका उम्मेदवारले जिते मात्रै विकास र समृद्धि आउने वताए । संघीयतालाई वचाउने मात्रै नभई वलियो बनाएर गाउँ गाउँमा सिंह दरबार आएको अनुभूति गराउन सत्ता गठवन्धनका उम्मेदवारलाई जिताउन चुमानले आह्वान गरे ।
नेपाली कांग्रेस क्षेत्र नं १ तनहुँका क्षेत्रीय सभापति श्याम मौरतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा समाजवादीका नेता प्रतापलाल श्रेष्ठ, नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेशका समानुपातिक उम्मेदवार चिनु पोख्रेल, माओवादी नेता क्षितिज लगायतले गठवन्धनलाई जिताउन आग्रह गरेका थिए ।