दमौली, २६ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले ठूलो त्याग र वलिदानीले जनताको हातमा आएको लोकतान्त्रिक अधिकार गुम्न नदिने वताएका छन् ।
भानु नगरपालिका–६ बरभञ्ज्याङमा शनिवार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताको त्याग, बलिदानी र समर्पणबाट निर्माण भएको संविधानले दिएको अधिकार कुनै हालतमाा गुम्न नदिने वताए ।
संविधान र लोकतन्त्रको विरुद्ध षड्यन्त्र भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले भने, “हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ, यसले सबै वर्गलाई अधिकार दिएको छ, यो अधिकार गुम्न दिन्नौँ ।” पौडेलले संविधान रक्षाकै लागि अहिलेकोे गठबन्धनको गठन भएको भन्दै यसलाई पछिसम्म लैजाने वताए ।
पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको वताए । विसं २०७४ को निर्वाचनमा आफूले चुनाव हारेपछि तनहुँको विकास अलपत्र परेको बताउँदै पौडेलले भने, “गठबन्धन सरकार बनेपछि तनहुँमा विकासको योजनाले पुनः गति लिन थालेको छ । बुद्धसिंमार्ग, मादी मस्र्याङ्दी सडक, शालिग्राम मार्गका लागि बजेट विनियोजन भएको छ ।”
“मसँग सपना छन्, योजना छन् र त्यसलाई पूरा गर्ने सङ्कल्प छ”, पौडेलले भने । देश विकास र सुशासनका गठबन्धन प्रतिबद्ध रहेको बताउँदै पौडेलले देशमा परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको वताए । जनतामा व्याप्त निराशा हटाउन सुशासनको खाँचो रहेको औँल्याउँदै पौडेलले भने, “बहुदल आएपछिका दिनमा गाउँ–गाउँमा आधुनिक सुविधाका पूर्वाधार पुगेको छ ।”