काठमाडौँ । विगत ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजबाट चल्न थालेपनि प्रदेश नं ५ मा भने खासै चहलपहल छैन ।
प्रदेशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी भएका कारण लामो तथा छोटो दुरीका यातायात खासै चल्न नपाएका हुन् ।
५ नं प्रदेश भारतीय सीमासंग जोडिएकाले पनि कोरोनाको जोखिम उच्च रहेको छ । कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेका कारण पनि प्रदेशमा लामो दुरीका सवारी तत्काल चल्ने अवस्था छैन ।
प्रदेशका रुपन्देही, पाल्पा लगायतका जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ । यद्यपि सुरक्षा मापदण्ड अपनाएर सवारी खुलाउने तयारी भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नं ५ का संयोजक डिल बहादुर ढुंगानाले यातायात टाइम्सलाई जानकारी दिए ।