भारतीय मालबाहक ट्रक निर्वाध रुपमा नेपाल भित्रँदा कोरोनाको जोखिम झनै बढ्दो देखिएको छ ।
देशका विभिन्न नाकाबाट भारतीय गाडी सिधै नेपाल प्रवेश गर्दा पनि खासै अनुगमन हुन नसकेको हो । छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र मृत्युदर तीब्र रुपमा बढिरहेको छ । एसियामा नै सबैभन्दा कोरोना प्रभावित मुलुक भारत हो । भारतबाट हाल दैनिक ६ सयको हाराहारीमा मालबाहक ट्रक आउने गर्दछन् । तर कोरोनाको उच्च जोखिम भएको देशबाट यति ठूलो संख्यामा मालबाहक ट्रक नेपाल आउँदा पनि अनुगमन नहुँदा थप त्रासको वातावरण सृजना भएको छ । हाल वीरगञ्ज, सुनौली, जोगबनी लगायतका नाकाबाट मालबाहक ट्रकहरू नेपाल भित्रिरहेका छन् । यसबारे सरकार थप सचेत हुनुपर्ने नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए । भारतबाट आएका ७० प्रतिशत ट्रक सिधै राजधानी काठमाडौं भित्रने गर्दछन् भने ३० प्रतिशत देशका अन्य भू–भागमा जाने गर्दछन् ।
खाद्यान्न, तरकारी तथा फलफूल बोकेर आउने ट्रकहरूले सरकारले तोकेका कुनै पनि मापदण्ड नअपनाएको नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले गुनासो गरे । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।