भक्तपुर । पुस्तकालय दिवसको अवसरमा बुक क्लब भक्तपुरको आयोजनामा आइतबार ‘पुस्तक र पुस्तकालय’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपालय प्रकाशनका सम्पादक बिमल आचार्यले पुस्तक अध्ययनका लागि पुस्तकमा सहज पहुँच आवश्यक रहेको बताउँदै प्रविधिको पहुँच भएका वर्गका लागि डिजिटल पुस्तकालय जति आवश्यक छ, त्यति नै आर्थिक रूपमा कमजोर तथा पहुँचबाट वञ्चित बालबालिकाका लागि भौतिक पुस्तकालयको आवश्यकता रहेको धारणा राख्नुभयो।
उहाँले आर्थिक रूपमा विपन्न भए पनि बौद्धिक रूपमा समृद्ध नागरिकबाट राज्य डराउने गरेको टिप्पणी गर्दै बालबालिकालाई अध्ययन र सिर्जनात्मक गतिविधिमा जोड्ने वातावरण निर्माण गर्न सरकार चुकेको बताउनुभयो। विशेषगरी दुईदिने सार्वजनिक बिदामा विद्यार्थीहरू कस्ता गतिविधिमा व्यस्त भइरहेका छन् भन्ने विषयमा राज्यले पर्याप्त ध्यान दिन नसकेको उहाँको भनाइ थियो।
काठमाडौंजस्तो राज्यका सम्पूर्ण संयन्त्र केन्द्रित क्षेत्रमा समेत बालबालिकाका लागि व्यवस्थित बाल पुस्तकालय सञ्चालन गर्नुपर्नेमा आचार्यले जोड दिनुभयो। उहाँले विगतमा भएका विध्वंस तथा क्षतिका क्रममा पुस्तक, दस्तावेज र महत्वपूर्ण कागजात नष्ट भए पनि त्यसबाट भएको क्षतिको पूर्ण विवरण हालसम्म सार्वजनिक हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
अध्ययन तथा अनुसन्धानका आधारमा तयार भएका पुस्तकहरूमा मानव सभ्यता र इतिहास सुरक्षित हुने उल्लेख गर्दै उहाँले त्यस्ता सामग्री नष्ट गर्नु नयाँ पुस्ताको ज्ञान र इतिहासमाथि नै प्रहार भएको बताउनुभयो। प्रविधिको नाममा पुस्तक अध्ययनको संस्कारलाई कमजोर बनाउने प्रवृत्तिले नयाँ पुस्तालाई भ्रमित पार्न सक्ने उहाँको भनाइ थियो।
कार्यक्रममा सत्संग पुस्तकालयका अभियानकर्ता जीवन सुवालले विगतमा पुस्तक तथा अध्ययन सामग्री सहज रूपमा उपलब्ध नहुने अवस्था रहेको स्मरण गर्दै कठिन परिस्थितिमा समेत पुस्तक अध्ययन गर्दा पुस्तकप्रतिको प्रेम र त्यसबाट प्राप्त हुने आनन्द बेग्लै हुने अनुभव सुनाउनुभयो।
हाल पुस्तक तथा शैक्षिक सामग्रीको पहुँच सहज भए पनि अभिभावकले आफ्ना सन्तानको भविष्यका लागि लक्ष्य निर्धारण गरी अत्यधिक दबाब दिने प्रवृत्तिका कारण नयाँ पुस्तामा स्वतःस्फूर्त अध्ययन गर्ने रुचि घट्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।
सुवालले पुस्तक अध्ययनलाई केवल व्यक्तिगत गतिविधिमा सीमित नगरी साथीहरूबीच पुस्तकबारे छलफल, अध्ययन समूह, अन्तक्र्रिया तथा गोष्ठीजस्ता गतिविधिसँग जोड्नुपर्ने बताउनुभयो। यस्ता गतिविधिले बालबालिका तथा युवामा पुस्तक पढ्ने र आफूले पढेका विषयलाई अभिव्यक्त गर्ने रुचि विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
समाजको बदलिँदो अवस्था र नयाँ पुस्ताको रुचिअनुसार अध्ययन गर्ने शैलीमा समेत परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा विभिन्न विद्यालय, कलेज तथा सामुदायिक पुस्तकालयका प्रतिनिधि एवं पुस्तकालयकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पुस्तकालयको वर्तमान अवस्था, पाठकको घट्दो रुचि, डिजिटल प्रविधिको प्रभाव तथा नयाँ पुस्तालाई पुस्तक अध्ययनतर्फ आकर्षित गर्ने उपायका विषयमा अन्तरक्रिया गरेका थिए।















