काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कार घोषणा गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले फेलोसिप तथा पुरस्कार कार्यक्रम घोषणा गर्नुभएको हो।
स्वर्गीय गिरीको चौथो वार्षिक स्मृति दिवसका अवसरमा कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा कार्यक्रम सुरु गरिएको हो। गिरीको अध्ययनशील स्वभाव, वैचारिक स्वतन्त्रता तथा सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवन्त राख्ने उद्देश्यले फेलोसिपलाई दुई विधामा विभाजन गरिएको सभापति थापाले जानकारी दिनुभयो।
‘प्रदीप गिरी फेलोसिप’ अन्तर्गत ‘विचार, अध्ययन र अनुसन्धान’ तथा ‘कर्म र न्याय’ गरी दुई विधा रहनेछन्।
‘विचार, अध्ययन र अनुसन्धान’ विधामा चार जना अध्येतालाई फेलोसिप प्रदान गरिनेछ। नेपाली राजनीति, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय, समावेशिता, दर्शन तथा साहित्यका क्षेत्रमा अनुसन्धान, पुस्तक लेखन र दस्तावेजीकरणका लागि सहयोग उपलब्ध गराइनेछ। प्रदीप गिरीको व्यक्तित्व, मधेस दृष्टिकोण तथा उहाँको दार्शनिक जीवनसम्बन्धी शोधलाई प्राथमिकता दिइने कांग्रेसले जनाएको छ।
फेलोहरूले पारिश्रमिकसँगै सम्पादकीय मार्गदर्शन तथा पुस्तकालयको सुविधा प्राप्त गर्नेछन्।
त्यस्तै, ‘कर्म र न्याय’ विधाअन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीलाई फेलोका रूपमा छनोट गरिनेछ। उनीहरूले एक वर्षसम्म कानुनी सहायता डेस्क सञ्चालन गरी जातीय विभेद, भूमि विवाद तथा नागरिकताबाट वञ्चित सीमान्तकृत एवं दलित समुदायका कम्तीमा २० वटा मुद्दामा निःशुल्क कानुनी पैरवी गर्नेछन्।
कांग्रेसका अनुसार यस कार्यक्रमको उद्देश्य व्यक्तिगत पीडालाई सार्वजनिक अभिलेखका रूपमा स्थापित गर्दै सामाजिक न्यायका विषयमा नीति निर्माणका लागि दबाब सिर्जना गर्नु हो।
यसैगरी, गिरीको राजनीतिक संस्कार, वैचारिक स्वतन्त्रता र आलोचनात्मक चेतलाई सम्मान गर्दै कांग्रेसले ‘निष्ठामूलक असहमति’ शीर्षकमा वार्षिक निबन्ध पुरस्कारसमेत घोषणा गरेको छ।
आफ्नै दल, संस्था वा विचारधाराको रचनात्मक आलोचना गर्दै लेखिएको उत्कृष्ट प्रकाशित निबन्धलाई उक्त पुरस्कार प्रदान गरिने सभापति थापाले बताउनुभयो।
उहाँले प्रदीप गिरीको असहमति निन्दा वा अन्धसमर्थनभन्दा फरक रहेको उल्लेख गर्दै उहाँको वैचारिक संस्कारलाई नयाँ पुस्तामाझ स्थापित गर्न पुरस्कार घोषणा गरिएको बताउनुभयो।
फेलोसिप राजनीतिक दलमा आबद्ध वा आबद्ध नभएका सबै योग्य नेपाली नागरिकका लागि खुला रहनेछ। आगामी कात्तिक २४ गते गोवर्धन पूजा तथा प्रदीप गिरीको जन्मजयन्तीका दिनदेखि आवेदन खुला गरिने कांग्रेसले जनाएको छ।
छनोट प्रक्रियालाई निष्पक्ष बनाउन कुनै पनि राजनीतिक दलको बहालवाला पदमा नरहेका व्यक्तिहरू सम्मिलित स्वतन्त्र निर्णायक समिति गठन गरिनेछ। मंसिर मसान्तभित्र फेलोहरूको छनोट गर्ने र कार्यक्रम प्रत्येक वर्ष निरन्तर सञ्चालन गर्ने कांग्रेसले जनाएको छ।
सीमान्तकृत, महिला तथा दलित समुदायका आवेदकलाई विशेष प्रोत्साहन गरिने बताइएको छ। कांग्रेसले यस पहलले नेपाली राजनीतिमा बौद्धिक विमर्श, आलोचनात्मक चेत र सामाजिक न्यायका मुद्दालाई थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरेको छ।















