हेटौँडा । मकवानपुर जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी विशालकुमार विडारीको ७८ वर्षको उमेरमा निधन भएको छ। हेटौँडा–४, हुप्रचौर निवासी विडारीको बुधबार बिहान २ः३० बजे आफ्नै निवासमा निधन भएको हो।
बुधबार बिहान हेटौँडा–९ स्थित त्रिवेणीधाममा उहाँको अन्त्येष्टि गरिएको छ। पारिवारिक स्रोतका अनुसार आइतबार बिहान मर्निङ वाक गरेर घर फर्किएका विडारी भ¥याङ चढ्ने क्रममा लड्नुभएको थियो। लड्दा टाउकोमा गम्भीर चोट लागेपछि उहाँलाई उपचारका लागि चितवनको भरतपुर लगिएको थियो। उपचारका क्रममा शल्यक्रिया गर्न सम्भव नभएपछि सोमबार साँझ उहाँलाई घर ल्याइएको थियो।
विडारी खेलकुदसँगै शिक्षा क्षेत्रमा समेत लामो समय योगदान पु¥याउनुभएका व्यक्तित्व हुनुहुन्थ्यो। मकवानपुरमा भलिबल खेलको विकास र विस्तारमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो। उहाँले २०५४ देखि २०६६ सालसम्म लगातार तीन कार्यकाल मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षका रूपमा नेतृत्व गर्नुभएको थियो।
उहाँकै नेतृत्वमा मकवानपुरमा भलिबलको संगठनात्मक विकाससँगै खेलाडी उत्पादन र प्रतियोगितात्मक गतिविधिलाई अघि बढाउन महत्वपूर्ण काम भएका थिए। पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका विडारी जिल्लाको खेलकुद क्षेत्रमा अभिभावकीय भूमिकामा समेत स्थापित हुनुहुन्थ्यो।
खेलकुदसँगै शिक्षण पेशामा पनि उहाँको योगदान उल्लेखनीय थियो। सेवानिवृत्त शिक्षक विडारीले मकवानपुरका विभिन्न विद्यालयको नेतृत्व सम्हाल्नुभएको थियो। उहाँ पालुङस्थित जनकल्याण माध्यमिक विद्यालय, भैँसेको कृष्ण माध्यमिक विद्यालय र हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत रहनुभएको थियो।
विद्यालय तहको नेतृत्वसँगै उहाँले हेटौँडा क्याम्पसमा समेत केही समय अध्यापन गर्नुभएको थियो। शिक्षा र खेलकुद दुवै क्षेत्रमा सक्रिय विडारीको निधनले मकवानपुरको खेलकुद तथा शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।















