मकवानपुर — मकवानपुरका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकास, पूर्वाधार निर्माण, कृषि, शिक्षा तथा सुशासनलाई प्राथमिकतामा राख्दै कुल ३ अर्ब १६ करोड ६७ लाख ९९ हजार १२० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
बुधबार बसेका आ–आफ्ना गाउँसभामा बकैया, मनहरी, कैलाश र मकवानपुरगढी गाउँपालिका ले आगामी वर्षको आय–व्यय अनुमानसहित बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमा विकास निर्माण, सेवा प्रवाह, कृषि उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य तथा स्थानीय पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकता दिइएको छ।
कैलाश गाउँपालिकाको बजेट ५५ करोड ८४ लाख
कैलाश गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो।
बजेटका लागि सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान र राजस्व बाँडफाँटमार्फत ४२ करोड ७६ लाख ९१ हजार रुपैयाँ, प्रदेश सरकारबाट ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
विनियोजित बजेटमध्ये पूर्वाधार विकासमा १५ करोड ७० लाख, सामाजिक विकासमा २४ करोड, आर्थिक विकासमा २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७५ लाख ५४ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा ४३ लाख तथा प्रशासनिक खर्चमा ११ करोड ८६ लाख रुपैयाँ छुट्याइएको छ।
बकैया गाउँपालिकाको बजेट ८९ करोड ५० लाख
बकैया गाउँपालिकाको १२ औँ गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले ८९ करोड ५० लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो।
कुल बजेटमध्ये ६३ करोड ९३ लाख १९ हजार रुपैयाँ (७१.४३ प्रतिशत) चालु खर्चतर्फ तथा २५ करोड ५७ लाख २५ हजार रुपैयाँ (२८.५७ प्रतिशत) पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
बजेटको स्रोतअन्तर्गत सङ्घीय सरकारबाट ४१ करोड ७३ लाख रुपैयाँ, बागमती प्रदेश सरकारबाट १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपैयाँ, आन्तरिक स्रोतबाट ४ करोड ६७ लाख ७५ हजार ८८५ रुपैयाँ तथा राजस्व बाँडफाँटबाट ५ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा वातावरणमैत्री पूर्वाधार विकासलाई समृद्ध बकैया निर्माणको आधारका रूपमा अघि बढाइने बताउनुभयो।
मनहरी गाउँपालिकाको बजेट ९८ करोड ५७ लाख
मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।
१९ औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष सीता पुलामीमगरले प्रस्तुत गर्नुभएको बजेटमध्ये ३६ करोड २५ लाख रुपैयाँ (३६.७८ प्रतिशत) पुँजीगत तथा ६२ करोड ३१ लाख रुपैयाँ (६३.२२ प्रतिशत) चालु खर्चतर्फ विनियोजन गरिएको छ।
गाउँपालिकाले आगामी वर्ष नदीजन्य पदार्थ बिक्रीबाट मात्रै २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।
सङ्घीय सरकारबाट ३६ करोड ८१ लाख रुपैयाँ, प्रदेश सरकारबाट ६ करोड २६ लाख ४१ हजार रुपैयाँ तथा आन्तरिक स्रोत र बैंक मौज्दातबाट ४ करोड १५ लाख ७० हजार रुपैयाँ व्यवस्थापन गरिने जनाइएको छ।
गाउँसभाले अध्यक्ष रञ्जन कालाखेतीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत पारित गरेको छ।
मकवानपुरगढी गाउँपालिकाको बजेट ७२ करोड ७५ लाख
मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ७५ लाख २३ हजार १२० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
१४ औँ गाउँसभाको प्रथम बैठकमा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले प्रस्तुत गर्नुभएको बजेटमध्ये ४३ करोड ९० लाख २३ हजार रुपैयाँ (६०.३५ प्रतिशत) चालु खर्चतर्फ र २८ करोड ८५ लाख रुपैयाँ (३९.६५ प्रतिशत) पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
बजेटको स्रोतमा सङ्घीय सरकारबाट ३५ करोड ४५ लाख रुपैयाँ, प्रदेश सरकारबाट ५ करोड ४५ लाख ३४ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड १९ लाख ९४ हजार १२० रुपैयाँ तथा आन्तरिक आय र गत वर्षको मौज्दातबाट ८ करोड ८३ लाख ९५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
राक्सिराङ बाहेक सबै स्थानीय तहले ल्याए बजेट
जिल्लाको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रासरोवर गाउँपालिका, बागमती गाउँपालिका र भीमफेदी गाउँपालिका यसअघि नै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये अब राक्सिराङ गाउँपालिका ले मात्र नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न बाँकी रहेको छ।
स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटले आगामी वर्ष पूर्वाधार विकास, सामाजिक सेवा विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनमार्फत स्थानीय विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।















