सल्यान, — सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि बुधबारका लागि निर्धारित गाउँसभा स्थगित गरिएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटको सम्पूर्ण तयारी पूरा गरी पालिकाबाट घर फर्किने क्रममा बुधबार बिहान पुतलीबजार क्षेत्रमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा अध्यक्ष केसी घाइते हुनुभएको हो। वडा नम्बर २ का वडाध्यक्ष इन्द्रबहादुर वलीका अनुसार दुर्घटनामा अध्यक्ष केसीको टाउको र हातमा चोट लागेको छ। उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
दुर्घटनापछि गाउँपालिकाकी उपाध्यक्ष सनसिल्ता वली डिसीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले बुधबारका लागि तय गरिएको गाउँसभा स्थगित गर्ने निर्णय गरेको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर खत्रीका अनुसार गाउँसभामा प्रस्तुत गरिने नीति, कार्यक्रम तथा बजेटको सम्पूर्ण तयारी पूरा भइसकेको थियो। तर अध्यक्ष आकस्मिक रूपमा घाइते भएपछि सभा स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो।
खत्रीका अनुसार अध्यक्षको स्वास्थ्य अवस्था र उपचार प्रक्रियालाई ध्यानमा राख्दै नयाँ मिति तय गरिनेछ। यदि उपचारमा लामो समय लाग्ने अवस्था आएमा कानुनी व्यवस्था अनुसार उपाध्यक्षको अध्यक्षतामा गाउँसभा सञ्चालन गरी नीति, कार्यक्रम तथा बजेट प्रस्तुत तथा पारित गर्ने तयारी गरिएको छ।
नेपालको संवैधानिक तथा कानुनी व्यवस्था अनुसार स्थानीय तहहरूले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँसभा वा नगरसभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ। त्यसैले कालिमाटी गाउँपालिकाले पनि कानुनी समयसीमाभित्रै बजेट तथा कार्यक्रम पारित गर्ने तयारी गरिरहेको जनाएको छ।
दुर्घटनापछि अध्यक्ष केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।















