पर्यटक उद्धारमा माछापुच्छ्रेले छुट्यायो बजेट

0

लेखनाथ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा प्रसिद्ध माछापुच्छ«ेसहितका हिमाल र विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गसमेत पर्छ ।

पदयात्राका लागि जाने पर्यटकहरु बेला बेलामा दुर्घटनामा पर्दा उद्धारका लागि कठिनाइ खेप्दै आएको पालिकाले पहिलो पटक आगामी वर्ष पर्यटक उद्धारका लागि बजेट विनियोजन गरेको छ ।

बुधबार भएको उन्नाइसौँ गाउँसभा उपाध्यक्ष सीता अधिकारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३-८४ को बजेटमा पर्यटन आपतकालीन खोज तथा उद्धार जनशक्ति उत्पादनका लागि तीन लाख बजेट विनियोजन गरेको उल्लेख छ । पालिकाले विपद् व्यवस्थापन कोषमा पनि कम्तीमा ६० लाख कायम हुने गरी बजेट छुट्याएको छ ।

पालिकाले मिसाल रुम्झा करुवा देउराली पर्यटन पदमार्ग, आले–ढक्का पदमार्ग, छ्याङ्लुङ–नम्सुलाँडा पर्यटन पदमार्ग, लोमान्याङ मन्दिर पदमार्ग, जामुने भाने पोखरी पर्यटन पदमार्ग, विश्वकर्मा पर्यटन पदमार्ग, रोक्का निम्जा पर्यटन पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

यस्तै, गुरुङ जातिको कला, संस्कृति, भेषभूषाको संरक्षण र सम्बद्र्धन गर्न घलेल गुरुङ सङ्ग्रहालय निर्माण गरिने भएको छ ।

वडा १ स्थित पिपर कोचाल, खुमाई लगायतको क्षेत्र समेटेर घोषणा गरिएको मुनाल चरा संरक्षण कार्यक्रम ‘पिपर पिसेन्ट कन्जरभेसन ल्यान्डस्केप’को प्रवद्र्धन गर्न खेलकुद हुने भएको छ । यसका लागि मुनाल कप प्रतियोगिता गर्न पाँच लाख बजेट छ ।

आगामी वर्षका लागि ७० करोड ४६ लाख ७० हजारको बजेट सार्वजनिक भएकोमा चालुतर्फ ४८ करोड ७७ लाख २४ हजार र पुँजीगततर्फ २१ करोड ६९ लाख ४६ हजार छ ।

बजेटका लागि आन्तरिक राजस्वबाट चार करोड ६० लाख, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ११ करोड ३७ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट १२ करोड १९ लाख, नेपाल सरकारको सशर्त अनुदानबाट २८ करोड, समपुरक अनुदानबाट दुई करोड ३० लाख र विशेष अनुदानबाट एक करोड १७ लाख जुट्ने अनुमान छ ।

प्रदेश समानीकरण अनुदानबाट एक करोड २६ लाख ८५ हजार, समपूरक अनुदानबाट ६० लाख, विशेष अनुदानबाट ३० लाख जुट्दा पाँच करोड ७६ लाख ३५ हजार घाटा बजेट प्रस्तुत भएको छ । उक्त घाटा बजेटलाई आन्तरिक स्रोतको परिचालन, आर्थिक वर्ष २०८२-८३ को वर्षान्तमा हुने बैङ्क मौज्दात, प्रशासनिक खर्चको बचत तथा आयोजना ठेक्काको घटीघटाउबाट हुने बचतबाट पूर्ति गरिने उपाध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो ।

माछापुच्छ्रेले सङ्घीय सरकारले प्रदान गरेको प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मको दिवा खाजा कार्यक्रमलाई बढाएर कक्षा ६ देखि १२ सम्म पु¥याएको छ । विद्यार्थीलाई दिवा खाजा व्यवस्थापनका लागि ६० लाख विनियोजन गरिएको छ । शिक्षा, युवा तथा खेलकुदसँग सम्बन्धित योजना तथा कार्यक्रमतर्फ दुई करोड ३४ लाख ७० हजार बजेट छ ।

स्वास्थ्य र आरोग्यतासम्बन्धी नीति तथा कार्यक्रम छ करोड ८६ लाख ८६ हजार र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ७७ लाख ४० हजार विनियोजन भएको छ ।

पालिकाको एकमात्र प्राकृतिक तातोपानी कुण्ड पुग्ने सडकको स्वास्थ्य भवनदेखि चौरा तातोपानी भराभरी सडकको स्तरोन्नति गर्न ६० लाख बजेट छ । यसमा सङ्घ सरकारले ६० लाख समपुरक बजेट छुट्याएको छ । पालिकाका स्थानीयको साझेदारीमार्फत स्वामित्व र अपनत्व बढाउन ‘माछापुच्छ्रेको ताकत, जनताको लागत’ नाराका साथ लागत साझेदारी कार्यक्रममा ९० लाख बजेट छ।

यातायात पूर्वाधार, भवन निर्माण, आवास तथा सहरी विकास र सम्पदा पूर्वाधारका लागि आगामी वर्ष १५ करोड ९५ लाख ९२ हजार छुट्याइएको छ ।

नागरिकलाई तालिम, क्षमता विकास तथा प्रविधि हस्तान्तरणमार्फत स्वरोजगार प्रवद्र्धन र आयआर्जनमा अभिवृद्धि गर्न १५ लाख रुपैयाँ विनियोजन भएको छ । फोहोरमैला व्यवस्थापन तथा ल्यान्डफिल साइटको पूर्वाधार निर्माण सुरु गर्न २० लाख बजेट छ ।

चालु वर्ष ६८ करोड २७ लाख ३१ हजारको बजेट कार्यान्वयन गरिरहेकोमा अहिलेसम्म ६५ दशमलव पाँच प्रतिशत खर्च भएको छ । उपाध्यक्ष अधिकारीले यी योजना तथा कार्यक्रमबाट समग्र पालिकाको सन्तुलित र समन्यायिक विकास हुने अपेक्षा सुनाउनुभयो ।