बिपी राजमार्गमा बस दुर्घटना मृतक आठमध्ये चार जनाको पहिचान खुल्याे

0

बनेपा । विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये चार जना मृतकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टले दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म चार जनाको मात्रै पहिचान खुलेको बताउनुभयो ।

उहाँले मृतकको पहिचान हुनेमा रोसी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, वडा–६ का ७५ वर्षीय सवारी धनी ईन्द्रबहादुर झाक्री, वडा-८ की ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख घर भएका ३० वर्षीय नेपाली सेनाका अमल्दार बमबहादुर भण्डारी रहनु भएको बताउनुभयो ।

मृतक अन्य चार जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा रोशी गाउँपालिका-८ की २२ वर्षीया एनिशा तामाङ, रोशी गाउँपालिका-६ की २० वर्षीया बिष्णु डोल्मो तामाङ, धन बहादुर तामाङ, सोही स्थानका ३० वर्षीय चन्द्र तामाङ, १८ वर्षीया रमिता वाइवा, ४० वर्षीय मनब तामाङ, रोशी गाउँपालिका-७ का ६० वर्षीय डम्बरबहादुर शाह घाइते हुनुभएको छ ।

यस्तै दुर्घटनामा रोशी गाउँपालिका-८ बस्ने ४३ वर्षीय कृष्णबहादुर तामाङ, बर्दिया बारबर्दिया नगरपालिका-१२ का २५ वर्षीय सुरेशबहादुर वादी, बनेपा नगरपालिका– ३ का ३४ वर्षीय घोया सिंह तामाङ, रोशी गाउँपालिका-२ की ६२ वर्षीया बिष्णुमाया लामा घाईते हुनुभएको छ ।

दुर्घटनामा तेमाल गाउँपालिका-८ बस्ने ४३ वर्षीय मनुराज तामाङ, सुबास नाम बताउने अन्दाजी ६ वर्षीय बालक, नामथर नखुलेकी अन्दाजी १ वर्षीया बालिका, नाम नखुलेका अन्दाजी ६२ वर्षीय पुरुष र नामथर पहिचान खुल्न नसकेकी अन्दाजी २२ वर्षीया महिलाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइते अधिकांशको टाउको, गर्धन, छातीमा चोट रहेको धुलिखेल अस्पतालले जनाएको छ । घाइतेमध्ये डम्बरबहादुर शाह र पहिचान नखुलेका पुरुषको अवस्था भने गम्भिर रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा घाइते व्यक्तिको श्रीमेहर गण धुलिखेल, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नम्बर १५ गण हेडक्वार्टर पाँचखालका विपद् तालिम प्राप्त सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको थियो ।

शुक्रबार दिउँसो २ः१५ बजे बनेपाबाट रोसी गाउँपालिका–६ सुँगुरे जाँदै गरेको पूर्व अरनिको यातायातको बा ३ ख ८३९८ नम्बर बस सेल्फीडाँडामा दुर्घटना भएको थियो ।