ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शाखाले गरेका गतिविधिको समीक्षा तथा आगामी कार्ययोजनासम्बन्धी विभिन्न निर्णय गर्दै सोमबार साधारणसभा सम्पन्न गरेको हो ।
महासङ्घका केन्द्रीय महासचिव रामप्रसाद दाहाल को उपस्थितिमा सम्पन्न साधारणसभामा संस्थाको हकहितका विषयमा बृहत् छलफल तथा विमर्श गरिएको थियो । उद्घाटन सत्रमा खुला छलफल र बन्द सत्रमा संस्थागत विषयमा छलफल गरिएको शाखा अध्यक्ष सुवास आचार्य ले जानकारी दिनुभयो ।
स्थानीय तहका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र अन्य सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा आयोजित खुला सत्रमा सञ्चारमाध्यम र सञ्चारकर्मीको हकहितका विषयमा छलफल गरिएको थियो ।
छलफलका क्रममा सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिनुपर्ने गरी सरकारले गरेको निर्णयप्रति पत्रकारहरूले असन्तुष्टि जनाएका छन् । पत्रकारहरूले उक्त निर्णयका कारण निजी सञ्चारमाध्यम सङ्कटमा परेको भन्दै निर्णय फिर्ता गर्न माग गरेका हुन् ।
महासङ्घका महासचिव दाहालले विज्ञापनसम्बन्धी सरकारी निर्णय फिर्ता गरी सबै सञ्चारमाध्यमका लागि समान नीति लागू गर्न महासङ्घले निरन्तर आवाज उठाइरहेको बताउनुभयो ।
यता स्थानीय तहका पदाधिकारीहरूले स्थानीय सरकारको स्वायत्त अधिकारअन्तर्गत स्थानीय सञ्चारमाध्यमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिकलाई सुसूचित गर्ने तथा सूचनाको हकलाई प्रभावकारी रूपमा प्रवाह गर्ने जिम्मेवारी सञ्चारमाध्यमको भएकाले स्थानीय सरकारको सहयोग रहने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष भरत खङ्का लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
साधारणसभाको बन्द सत्रले शाखाका सचिव कृष्ण फुरुम्बो लिम्बू र कोषाध्यक्ष मदन गौतम ले प्रस्तुत गर्नुभएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको शाखा अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।















