भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेट अन्तर्गत सञ्चालन गरिएको १० दिने नेवारी परिकार बनाउने तालिम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको समन्वयमा तालिम सञ्चालन गरिएको हो।
तालिमको समापन समारोह उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यता तथा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।
समापन कार्यक्रममा बोल्दै कार्यालय प्रमुख कुस्माले आधुनिक तथा आयातित खाना र खाजाको बढ्दो प्रयोगका कारण नेपाली मौलिक तथा स्वास्थ्यवर्द्धक परिकारहरू लोप हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले नेवारी परिकार नेपाली समुदायसँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूमाझ समेत लोकप्रिय रहेको उल्लेख गर्दै यसलाई उद्यम र व्यवसायका रूपमा विकास गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
“तालिम केवल सीप सिकाउने उद्देश्यमा सीमित छैन, प्रशिक्षार्थीहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “नयाँ व्यवसाय दर्ता वा सञ्चालनका क्रममा कुनै समस्या आए कार्यालयले आवश्यक सहजीकरण गर्नेछ।”
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य वीरेन्द्र जतिले तालिमबाट हासिल गरिएको सीपलाई आर्थिक उत्पादनसँग जोड्न सके व्यक्ति, समाज र समग्र देशकै अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना र कुल गार्हस्थ्य उत्पादन (GDP) वृद्धिमा समेत टेवा पुग्ने बताउनुभयो।
सङ्घका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले परम्परागत नेवारी परिकारलाई आधुनिक स्वाद र प्रस्तुतीकरणसँग संयोजन गरी बजारमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले स्थानीय रैथाने खानालाई समयानुकूल ‘फ्युजन’ शैलीमा विकास गर्न सके व्यवसाय विस्तारमा थप सम्भावना रहेको बताउनुभयो।
तालिमका मुख्य प्रशिक्षक सुनिल सुवालले नेवारी परिकारको स्वाद मात्र होइन, गुणस्तर (Quality) कायम राख्ने प्राविधिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा महिला उद्यमी समितिकी सभापति कमलश्वरी खर्बुजा तथा सङ्घकी सह–सचिव सुमित्रा श्रेष्ठले महिला उद्यमीहरूको क्षमता विकास, उद्यम प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणमा सङ्घले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो।
स्थानीय मौलिक संस्कृति संरक्षण, सीप विकास तथा रोजगारी सिर्जनालाई लक्ष्य गरी सञ्चालन गरिएको उक्त तालिममा २५ जना स्थानीय महिला तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।














