राष्ट्रिय दलित पत्रकार संघ बागमती प्रदेश अध्यक्षमा वसन्त परियार चयन

0

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको अध्यक्षमा पत्रकार वसन्त परियार चयन हुनुभएको छ । संघको मंगलबार सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा १९ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधानमा सुनिश्चित गरिएका दलित समुदायका हकअधिकारको संरक्षण आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले दलित अधिकार कटौती हुने खतरा बढ्दै गएकाले त्यसको रक्षा र थप अधिकार सुनिश्चित गर्न संगठित संघर्ष अपरिहार्य रहेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री बानियाँले भन्नुभयो, “दलित समुदायका संवैधानिक अधिकार कमजोर पार्ने प्रयासहरू देखिन थालेका छन् । त्यसको रक्षा गर्न एकजुट हुन आवश्यक छ । नेपाली कांग्रेस २००७ सालदेखि नै दलित समुदायको हकअधिकारका लागि निरन्तर संघर्षरत छ । बागमती प्रदेश सरकारले दलित समुदायको आयआर्जन र सशक्तीकरणका कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री जीतु गौतमले राज्यका सबै संरचनामा दलित समुदायको अनिवार्य सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी दलित मुक्ति मोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले पछिल्लो राजनीतिक घटनाक्रमले संविधान नै संकटमा पर्न सक्ने खतरा बढ्दै गएको उल्लेख गर्दै संविधान रक्षाका लागि दलित समुदायबीच एकता अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

अधिवेशनबाट संघको उपाध्यक्षमा विष्णु विक र चण्डिका नेपाली तथा सचिवमा गोपाल विश्वकर्मा चयन हुनुभएको छ ।