क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्।
आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनु भएका येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्ति प्रदान गरेको विश्वास रहेको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो। उहाँका अनुसार यही विश्वासका आधारमा क्रिश्चियन समुदायले क्रिसमस डे लाई मुक्ति दिवस, प्रेम दिवस र शान्ति दिवसका रूपमा मनाउने गरेका छन्।
मानिसलाई प्रेम गर्न प्रेरित गरेकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र पापबाट मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिन मनाइने अध्यक्ष गहतराजको भनाइ छ।
विश्वका धेरै देशमा उत्साहपूर्वक मनाइने क्रिसमस डे नेपालमा भने विसं २०६३ सालदेखि नेपाल ख्रिष्टियन महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उहाँले बताउनुभयो।
महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिने जनाइएको छ। महोत्सवमा सरकारका प्रतिनिधि, सरोकारवाला निकायका अधिकारी, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले जानकारी दिनुभयो।
क्रिसमस डेको अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएकोमा विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ।
पछिल्लो समय क्रिसमस अवसरमा मुख्य सहरका प्रमुख स्थानहरू क्रिसमस ‘ट्री’ र आकर्षक सजावटले सजाइने गरिएको छ। विशेषगरी पर्यटकको आवागमन बढी हुने ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रमा क्रिसमसको रौनक बढी देखिने गरेको छ।
महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा रहेका छन्।















