गुण्डुमा सुधीर बस्नेतको प्लटिङले धोबीखोला पुरिँदा डुबानको जोखिम बढ्यो, स्थानीय त्रसित

232

भक्तपुर, गुण्डु — घरजग्गा व्यवसायी सुधीर बस्नेतद्वारा भक्तपुरको गुण्डु क्षेत्रमा गरिएको प्लटिङका कारण धोबीखोला माटोले पुरिँदा डुबानको गम्भीर जोखिम सिर्जना भएको छ। झण्डै ३ सय रोपनी भिरालो जमिनमा गरिएको प्लटिङले वर्षा लागेपछि माटो बगाएर खोलाको बहाव अवरुद्ध पारिदिएको स्थानीयवासीको गुनासो छ।

सामान्य पानी पर्दा पनि भिरालो क्षेत्रबाट बग्ने माटोले खोलाको सतह भरिँदै गएपछि बाढी र डुबानको सम्भावना तीव्र बनेको हो। स्थानीयवासीहरूका अनुसार प्लटिङका कारण वरपरका पानीका मुहान सुक्न थालेका छन्, जसले खानेपानीको अभावसमेत निम्त्याएको छ।

यसअघि स्थानीयवासी र जनप्रतिनिधिहरूको संयुक्त बैठकले खोलामा झरेको माटो तत्काल हटाउन व्यवसायी बस्नेत र निर्माण व्यवसायीलाई अनुरोध गरे पनि उनीहरूले वेवास्ता गरेको स्थानीय रामेश्वर वाग्लेले जानकारी दिनुभयो।

गत वर्षको वर्षात्मा पनि सोही प्लटिङकै कारण धोबीखोला अवरुद्ध भई आसपासका बस्तीहरू डुबानमा परेका थिए। त्यस घटनामा करोडौंको क्षति भएको थियो।

यसपालि पनि वर्षात्को समय नजिकिँदै गएसँगै क्षति दोहोरिने डर बढेको भन्दै स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालय र चाँगुनारायण नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले जोखिम न्यूनीकरणका लागि तत्काल आवश्यक कदम चाल्न माग गरेका छन्।