काठमाडौं । भोटेकोशी नदीमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति सामाजिक विकास नेपाल (SDN), द नेदरल्यान्ड्स र चाँगुनारायण फाउन्डेसन (CNF) ले गहिरो दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
SDN र CNF ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड (एक करोड रुपैयाँ) सहयोग गर्ने जनाएका हुन्। विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति, विस्थापन तथा भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै संस्थाहरूले पीडित परिवारप्रति समवेदना तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।
सामाजिक विकास नेपाल, द नेदरल्यान्ड्स र चाँगुनारायण फाउन्डेसनले स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा स्थानीय तहमा सीप विकास, रोजगारी प्रवर्द्धन तथा सामाजिक–आर्थिक विकासका क्षेत्रमा काम गर्दै आएका छन्।
आर्थिक सहयोगसँगै SDN र CNF ले रसुवा जिल्लाका चयनित बाढी तथा विपद् प्रभावित क्षेत्रमा ‘Healing through Art and Resilience’ (कलामार्फत उपचार तथा उत्थानशीलता) नामक आपत्कालीन मनोसामाजिक तथा सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेका छन्।
उक्त कार्यक्रममार्फत विद्यार्थी, शिक्षक तथा समुदायका सदस्यलाई कला आधारित विभिन्न गतिविधिमार्फत भावनात्मक तथा मनोसामाजिक सहयोग प्रदान गरिनेछ। साथै, विपद्पछिको मानसिक तनाव कम गर्न, आत्मविश्वास बढाउन तथा प्रभावित समुदायको पुनःस्थापना र उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
संस्थाहरूले विपद्को कठिन समयमा खोज, उद्धार, आपत्कालीन प्रतिक्रिया तथा तत्काल राहतका लागि नेपाल सरकारले निर्वाह गरेको नेतृत्व र प्रयासको प्रशंसा गरेका छन्। प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना, पुनर्निर्माण तथा पुनःउत्थानमा पनि सरकारको नेतृत्व निरन्तर रहने विश्वास उनीहरूले व्यक्त गरेका छन्।
SDN र CNF ले आगामी दिनमा पनि नेपाल सरकार तथा स्थानीय सरकारसँग सहकार्य गर्दै विपद् प्रतिकार्य, पुनःस्थापना, पुनर्निर्माण, समुदायको उत्थानशीलता विकास तथा दिगो विकासका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहयोगसम्बन्धी प्रतिबद्धता सामाजिक विकास नेपाल (SDN) का अध्यक्ष राम बुढाथोकी र चाँगुनारायण फाउन्डेसन (CNF) का संस्थापक अध्यक्ष मणिराज खत्रीले व्यक्त गरेका हुन्।














