फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलासस्थित खेलमैदानमा भएको प्रतिस्पर्धामा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयतर्फ जाने अवस्था बनेको थियो। तर दोस्रो हाफको इन्जुरी समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।
मेरिनोको अन्तिम क्षणको गोल नै खेलको एकमात्र गोल बन्यो, जसका कारण स्पेनले पोर्चुगललाई स्तब्ध पार्दै अन्तिम आठमा स्थान बनायो।
यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। स्पेनले सन् २०१० मा विश्वकप उपाधि जितेपछि त्यसयता पहिलो पटक अन्तिम आठमा स्थान बनाएको हो।
यता, उपाधिको दाबेदार मानिएको पोर्चुगल भने राउन्ड अफ–१६ बाटै बाहिरिएको छ। अन्तिम समयमा गोल खाँदा पोर्चुगलको विश्वकप यात्रा अप्रत्याशित रूपमा समाप्त भएको हो।














