ललितपुर। भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा तत्काल लगानी नगरे मुलुक पछाडि पर्ने चेतावनी दिएका छन्। सानेपा, ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज र एनडिआरआईको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा उनले सूचना प्रविधिको यो युगमा एआईको महत्व बढ्दै गएको भन्दै नेपालले ढिला गर्न नहुने बताए।
संसारको एआई दौड र नेपालको अवस्थाः
मुम्बईस्थित भिट्टी रिसर्च इन्स्टिच्युटका अध्यक्षसमेत रहेका लालले अहिले संसारका ठूला उद्योगहरू एआईको माध्यमबाट चुस्त हुँदै गएका बताउँदै, “एआईको दौडमा जित्ने देशले संसारलाई आफ्नो अधिनमा राख्न सक्छ।” उनले अमेरिका र चीनजस्ता मुलुकहरूले वार्षिक खर्बौं डलर एआईमा लगानी गरिरहेको उदाहरण दिँदै भारतले पनि एआईमा आफ्नो लगानी बढाएको जानकारी गराए। नेपाललाई एआईमा लगानी र प्रयास तीव्र पार्न उनले आग्रह गरे।
नेपाली विद्यार्थी र एआईको भविष्यः
एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर, र सूचना प्रविधि स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै उनले कलेजको पाठ्यक्रममै एआईको सिप विकासमा जोड दिन सुझाव दिए। साथै, अन्तिम वर्षको प्रोजेक्टमा एआईलाई समाहित गर्नुपर्ने कुरा उनले बताए।
उनले एआई विकासका तीन चरणबारे चर्चा गर्दै भने, “नेपाल र भारतजस्ता देशहरू प्रारम्भिक चरणमा छन्, जबकि अमेरिका र चीन मध्यम चरणमा पुगेका छन्।” नेपालमा भौतिक र मानव संसाधनको अभावले विदेशी लगानी आकर्षित गर्न कठिनाई हुने भएकाले पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा पनि राखे।
कलेज र कार्यक्रमको योगदानः
एभरेष्ट इन्जिनियरिङ कलेजले स्नातकोत्तर तहमा पनि कम्प्युटर इन्जिनियरिङ अध्यापन गरिरहेको र यस कलेजका विद्यार्थीहरूले भारतको मुम्बईस्थित कम्पनीहरूमा इन्टर्नसिपको अवसर पाउने संभावना रहेको उनले जानकारी गराए।
कार्यक्रम एभरेष्ट इन्जिनियरिङ कलेजका रिसर्च कमिटीका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कुन्दनाकुमार लाल र एनडिआरआईका वरिष्ठ शोध विशेषज्ञ प्रा.डा. नवराज खतिवडालाई मायाको चिनो प्रदान गरियो। कार्यक्रमको सञ्चालन एनडिआरआईकी सञ्चार अधिकारी आष्मा अर्यालले गरेकी थिइन्।