कोरा भक्तपुरको चौथो संस्करणको तयारी सुरु, रुट परिमार्जन सहित भक्तपुरको थप भौगोलिक सांस्कृतिक महत्त्व समेटिने

27

भक्तपुर । कोरा भक्तपुरको चौथो संस्करणको तयारी सुरु भएको आयोजक साइकल कनेक्ट भक्तपुरले जनाएको छ। यस वर्षको कोरा जुलाई २० तारिख ( श्रावण ५ गते) मा हुने तय गर्दै आयोजकले फेसबुक मार्फत पोस्टर सार्वजनिक गरेको हो।

५० कि.मी, ७५ कि.मी र १०० कि.मीको रुटमा गरिँदै आएको कोरा साइक्लिङ च्यालेन्जमा यस वर्ष २५ कि.मीको नयाँ रुट पनि समावेश हुनेछ। साइकल कनेक्ट भक्तपुरको विभिन्न कार्यक्रमका सहभागी तथा शुभचिन्तकहरूबाट प्राप्त सुझावको आधारमा शुरुवाती साइकल यात्रीहरूको सहजताको निम्ति  २५ कि.मीको रुट थप गर्ने साथै ५० कि.मी र ७५ कि.मीको रुट परिमार्जन गर्दै भक्तपुरको थप भौगोलिक तथा सांस्कृतिक विविधतालाई समेट्ने निर्णय भएको आयोजकले जनाएको छ।करिब ६०० साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको गत वर्षको सफलतालाई हौसलाको रूपमा ग्रहण गर्दै यस वर्ष अझ व्यापक सहभागिताको लागि अहिले देखि नै तयारी सुरु गरेको साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले बताउनु भयो।

कार्यक्रमको व्यापक प्रभावलाई जोड दिँदै आयोजक भन्छन्, “भक्तपुर साइक्लिङको लागि प्राइम लोकेसन हो। कोरा भक्तपुरको रुट नेपालभरिमा सबैभन्दा चुनौतीपूर्ण रुट मध्य मानिन्छ। नेपालको सबैभन्दा सानो जिल्ला भए पनि भक्तपुरमा छोटो दुरीमा नै हामीले विभिन्न सांस्कृतिक तथा भौगोलिक विविधता देख्न पाउँछौँ जसले गर्दा कोरा भक्तपुरमा नेपाल भित्र र बाहिरबाट पनि उत्साहपूर्ण सहभागिता हुदैं आएको छ भन्ने हाम्रो बुझाई हो।”

काठमाडौँबाट २०११मा सुरु भएको कोरा च्यालेन्ज, साइकल कनेक्ट भक्तपुरको आयोजनामा २०२१ देखि भक्तपुरमा सुरु गरिएको हो। गत वर्ष नेपालको १३ जिल्लामा एक साथ कोरा च्यालेन्ज आयोजना गरिएको थियो। भक्तपुरमा कोरा च्यालेन्ज मार्फत साइकल संस्कृतिको विकास गर्दै साहसिक साइकल पर्यटन तथा स्थानीय जनजीवनमा नियमित कसरतको महत्त्व उजागर गर्ने प्रयास हुदैं आएको छ। यसर्थ कोरा भक्तपुरको मुख्य उद्देश्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भक्तपुरलाई एक उदाहरणीय साइक्लिङ गन्तव्यको रूपमा स्थापित गर्दै जानु रहेको छ।

कोरा च्यालेन्ज आयोजना गर्नुको दीर्घकालीन अवधारणाबारे टिप्पणी गर्दै अध्यक्ष बाला टिप्पणी गर्नुहुन्छ- “दीर्घकालीन रूपमा साइकललाई साइकल मात्र नभई सामाजिक तथा आर्थिक रूपमा पनि एक अभिन्न अङ्गको रूपमा स्थापित गर्न हामी तत्पर छौँ। गाडी केन्द्रित विकास मोडल भन्दा मानव केन्द्रित विकास मोडल “ पैदल र पेडल मैत्री सहर” को अवधारणाको निम्ति पनि यो कार्यक्रम एक शूरुवाती कोशेढुंगाको रूपमा उभिने विश्वास हामीलाई छ।”

के हो कोरा च्यालेन्ज?

सन् २०११ मा काठमाडौँबाट सोसल टुर्र, साइकल सिटी नेटवर्क नेपाल तथा पाङ्ग्रो आउटडोर्सको पहलमा सुरु भएको कोरा साइक्लिङ च्यालेन्ज आजको दिनसम्म आइपुग्दा नेपालको सबैभन्दा लोकप्रिय साइक्लिङ कार्यक्रमको रूपमा स्थापित भएको छ। ५०, ७५ र १०० कि.मि. को निर्दिस् साइकल रुटमा साइकल यात्रीहरूले स्वयमलाई एक चुनौतीको रूपमा कोरा च्यालेन्जमा सहभागी भई साइकल यात्रा गर्ने गर्दछन्। कोराको शाब्दिक अर्थ मुख्यतः तिब्बती संस्कृतिमा कुनै धार्मिक स्थलको परिक्रमा लगाउने कार्य हो। साइकलको माध्यमबाट सहर अथवा कुनै स्थानको निर्दिस् दुरीमा परिक्रमा लगाउनु कोरा साइक्लिङ च्यालेन्जको मुख्य आकर्षण हो भने यसरी परिक्रमा गर्दा कुनै सामाजिक कार्यको लागि सहयोग सङ्कलन गर्नु कोरा च्यालेन्जको प्रारम्भिक उद्देश्य हो। साइकल यात्रीहरूले साइकल चढेको जम्माजम्मी दुरी अनुसार दाताहरूले सम्पूर्ण अथवा केही भाग रकम कोरा च्यालेन्जले हरेक वर्ष गर्ने कुनै एक सामाजिक कार्यको निम्ति सहयोग गर्ने गरिन्छ। यद्यपि हाल कोरा च्यालेन्ज एक व्यापक साइकल जात्राको रूपमा स्थापित हुन पुगेको छ।