चिलिमे हाइड्रोपावरको नाफा १०.९७ प्रतिशतले घट्यो

5

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चिलिमे जलुविद्युतको खुद नाफा १०.९७ प्रतिशतले घटेर ४७ करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो ।

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.७० प्रतिशतले घटेर ७८ करोड २५ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट ८० करोड ८२ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा चिलिमे जलुविद्युतको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको छ । यसअवधिमा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६२ पैसाबाट घटेर ७ रुपैयाँ ७९ पैसा (वार्षिक) मा झरेको छ । चिलिमेको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९३ पैसा छ ।