काठमाडौं– जीवन बीमा कम्पनीहरू अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा बढी केन्द्रित रहेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले यो ९ महिनामा १ खर्ब १० अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यी कम्पनीले बागमती प्रदेशबाट मात्रै ४८ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो हिसाबले बीमा कम्पनीहरूले बागमती प्रदेशमा मात्रै ४४.२५ प्रतिशत व्यवसाय गरेको देखिन्छ । यसैगरी जीवन बीमकहरूको दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ । ९ महिनामा कुल व्यापारको १५.७० प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ ।
कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिनामा लुम्बिनी प्रदेशबाट १७ अर्ब २९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरूले कोशी प्रदेशबाट १३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कोशीमा जीवन बीमा कम्पनीहरूको बजार हिस्सा १२.१६ प्रतिशत रहेको छ ।
९ महिनामा जीवन बीमकले गण्डकी प्रदेशबाट ११ अर्ब २६ करोड ३६ लाख रुपैयाँ, मधेश प्रदेशबाट ९ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ६ अर्ब ६० करोड ७२ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ३ अर्ब १ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कुल व्यापारको हिसाबले जीवन बीमा कम्पनीहरूको बजार हिस्सा गण्डकीमा १०.२२ प्रतिशत, मधेशमा ८.९४ प्रतिशत, सुदूपश्चिममा ५.९९ प्रतिशत र कर्णालीमा २.७४ प्रतिशत रहेको देखिन्छ ।