दमौली, २ बैशाख ।
नेपाली कांग्रेसप्रति शुभेच्छा र सदीक्षा प्रकट गर्ने बुद्धिजिवीहरुको शनिवार दमौलीमा भेला तथा अन्तक्र्रिया सम्पन्न भएको छ । तनहुँ मूलथलो भएका तथा जिल्लामा क्रियाशिल बुद्धिजिवीहरुको भेलाले तनहुँको विकासे मार्गचित्रका लागि कांग्रेस उम्मेदवार गोविन्द भट्टराईका पक्षमा समर्थन जनाउने निर्णय गरेको छ । तनहुँ उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलामा सहभागीले तनहुँको स्थानीय विकास नै यहाँका नागरिकको प्राथमिकता भएको भन्दै त्यसलाई अघि बढाउन भट्टराई नै सक्षम पात्र भएको बताए । निष्ठाको राजनीति गरेका र पदमै नरहेर पनि भट्टराईले तनहुँको खानेपानी, विद्युत र बाटोघाटो लगायतका विकास निर्माणमा योगदान दिएको भन्दै उनैलाई जिताउनु पर्नेमा सहभागिहरुको जोड थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरूङले सत्तामा नगइन्जेल देशमा ठुला ठुला भ्रष्टाचार भएको छ भन्ने र आँफै सत्तामा जाँदा ती सबै कुराहरू नदेख्ने मान्छेहरूले गरेको राजनीति टिकाउ नहुने दावी गरे ।
कार्यक्रममा काङ्ग्रेस नेता मिनेन्द्र रिजालले गोविन्द भट्टराई शालीन र धैर्यवान नेता भएको बताए । नेता रिजालले पार्टी भित्र अहिले नैँ पाइहालौँ भन्ने प्रवृत्ति केही नेतामा देखिएको भए पनि तनहुँ १ का उम्मेदवार बनेका गोविन्द भट्टराईमा त्यस्तो कहिल्यै नदेखिएको स्पष्ट पारे । भट्टराई कुनै दिन पालो आउला भन्दै कुरेर बसेको नेता भएको बताए । रिजालले लोकतान्त्रिक इतिहाससँग जोडिएको तनहुँ १ मा भट्टराईलाई जसरी पनि जिताउनुपर्ने बताए ।
कांग्रेसका उम्मेदवारका बारेमा कार्यकर्ताले चर्चा गर्नुपर्ने भन्दै उनले आफ्नो चर्चा नगरेर अरूको चर्चा गर्न आजैबाट छोडेमा चुनाव सजिलै जितिने दावी गरे । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केही महिना अगाडि भएको चुनावमा काङ्ग्रेसले धेरै मतान्तरमा जितेको अवस्थामा अब बैशाख १० गते हुने निर्वाचनमा पनि अत्याधिक मतले चुनाव जित्ने बताए । कांग्रेस केन्द्रीय सदस्य शकर भण्डारीले अफ्ट्यारो परेको बेलामा सबै क्षेत्रका मानिसले पार्टीलाई सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले बौद्धिक व्यक्तित्व भट्टराईमा तनहुँको विकास गर्ने सम्भावना देखेकाले आफूहरुको साथ रहने प्रतिवद्धता जनाए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोख्रेलले तनहुँमा पहिलेका तुलनामा विकासले गति लिएको भन्दै भट्टराई राजनीतिभन्दा विकासलाई प्राथमिकता दिने व्यक्ति भएकाले आफूहरुको साथ रहेको बताए । उनले भट्टराई विजयी भएमा जिल्लाको सडक सञ्जालदेखि अन्य भौतिक तथा मानविय विकासका लागि साथ दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेका महामन्त्री डिना उपाध्याय, नेका जिल्ला सभापति जितप्रकाश आले, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्की, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता योगेन्द्र बहादुर अधिकारी, इन्जिनियरर्स एसोसिएसन नेपालका अध्यक्ष ई.हरि दर्लामी मगर, विभिन्न पार्टीका विज्ञ प्रतिनिधि लगायतले बोलेका थिए । कार्यक्रममा शिक्षक, प्राध्यापक, वकिल, कर्मचारी, डाक्टरलगायतका ठुलो संख्यामा बुद्धिजीवीहरूको उपस्थिति रहेको डाक्टर शेषरमण न्यौपानेले जानकारी दिए ।