दमौली, १ बैशाख ।
जिल्लाकै सबैभन्दा जेठो व्यास नगरपालिकाले विहीवार ३१ औं स्थापना मनाएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको सभापतित्वमा आयोजित स्थापना दिवस कार्यक्रमको पूर्व मन्त्री शंकर भण्डारीले उद्घाटन गरे । २०४८ साल चैत्रमा स्थापित नपाको ३१ औं स्थापना दिवसको उद्घाटन गर्दै भण्डारीले नगरपालिकाका योजनाहरु कार्यान्वयन गर्न, फोहोरमैलाको उचित व्यवस्थापन गर्न र सन्तुलित वजेट निर्माण गर्न सुझाए ।
राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको लिखित शुभकामना सुनाइएको उक्त कार्यक्रममा पूर्व सांसद कलिला खान, गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे वि.क, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, ने.क.पा समाजवादीका केन्द्रिय पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजाल, प्रमुख प्रशासकीय अधिकृत श्री गंगालाल सुवेदी, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, पर्यटनविद् हरिसिंह गुरुङ, रेडक्रसका जिल्ला सभापति प्रा.डा कृष्ण प्रसाद गौतम, आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्षसुजित हिराचन, वडा नं २ का अध्यक्ष काशिराम श्रेष्ठ, पूर्व वडाअध्यक्ष एवं कार्यवाहक नगर प्रमुख लेख बहादुर राना, शिक्षा शाखा पूर्व प्रमुख नगेन्द्र प्रसाद रेग्मी, वैरेनी जग्गा एकीकरण आयोजना व्यवस्थापन समितिका अध्यक्ष एवं टोल विकास संस्थाका अध्यक्ष श्रीराम कुंवर लगायतले स्थापना दिवसको शुभकामना दिएका थिए ।उक्त कार्यक्रममा व्यास नगरपालिकाका विभिन्न गतिविधि समेटिएको “व्यास नगर दर्पण–२०७९“ स्मारीका र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको विवरण समेटिएको पुस्तक “व्यास नगरपालिका वैदेशिक रोजगार सम्बन्धीत पार्श्वचित्र–२०७९“ विमोचन गरिएको थियो ।
उप–प्रमुख इन्दिरा दरैले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रवक्ता जीवन गुरुङले गरेका थिए ।