दमौली, २७ चैत
आँवुखैरेनी २ मार्किचोककी कृष्ण कुमारी पन्त उमेरले ८० वर्षकी भइन् । जन्मेदेखि कांग्रेस परिवारकी उनी बैशाख १० गते हुने उपनिर्वाचनमा पनि कांग्रेसको रूख चिन्हमा भोट हाल्न आतुर छन् । अहिले धेरै हल्ला गरेका छन्, मलाई ती कसैको हल्लाले छुँदैन पन्तले भनिन्, ‘भान्सा छोडेर डिल मुनि जाने भनेजस्तो अब किन अन्त जान परेको छ र ? मैले सकिन्जेल र जानिन्जेल रूख बाट अन्त हात जाँदैन’ । पन्तले घर दैलो गर्दै आफ्नै पिंढिमा आएका बाम लोकतान्त्रिक गठवन्धनका साँझा उम्मेदवार गोविन्द भट्टराईलाई विजयको आशिर्वाद दिइन् । “ल बाबू पार्टीको प्रतिष्ठा बचाएस्, चुनाव जितेर सबै जनताको काम निष्पक्ष रूपमा गरेर लोकप्रिय भएस्, पन्तले भट्टराईलाई आशिवचन दिदै भनिन् । लोकतन्त्रको लागि, प्रजातन्त्रको लागि लडेको पार्टी हो कांग्रेस, यस्तो राम्रो पार्टीमा तपाईं जस्तो यही माटोमा जन्मे हुर्केको विकासप्रेमी नेता उम्मेदवार बन्नु सिङ्गो १ नं क्षेत्र को लागि गर्वको कुरा हा,े उनले थपिन् ।
पन्तले सबै मतदाता मिलेर भट्टराईलाई जिताउन समेत अपिल गरिन् । पन्तले जस्तै बरादिका बिष्नु गौलीले पनि भट्टराईलाई जिताउनु पर्ने बताए । मंसिरको चुनाबमा रामचन्द्र पौडेलले ५ हजार भन्दा बढी मतले जिते, त्यो बेलामा पौडेलले केही गरेनन् भन्दै आरोप लगाउथेँ, गालि गर्थे, तर अहिले नयाँ पिँढिका गोविन्द भट्टराई उम्मेदवार बनेका छन्, उनकोे ब्यक्तित्वलाई कसैले दोस दिने ठाउँ छैन, उनमा केही खोट छैन त्यसैले, त्यसैले झन् धेरै मत अन्तरले उनले जित्छन् गौलीले भने । अहिले कांग्रेस नेता भट्टराई गठवन्धनको तर्फवाट मत माग्दै घर घरमा पुगेका छन् ।
उनलाई जिताउन कांग्रेसका केन्द्रीय नेताहरू देखि माओवादीका पुर्व मन्त्री हरिबहादुर चुमान समेत घर दैलोमा ब्यस्त छन् । आइतबार र सोमबार दुई दिनसम्म आबुखैरेनी गाउँपालिकाका विभिन्न गाउँमा भएका कार्यक्रममा भट्टराईसँगै चुमान पनि सहभागी भएका थिए । भट्टराईले मंगलबारदेखि बन्दिपुरका विभिन्न वडाका कार्यक्रममा भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।