दमौली/२८, माघ
नेपाल शिक्षक संघ तनहुँका केन्द्रिय प्रतिनिधि लक्ष्मी मल्लले नेपाल शिक्षक संघको आसन्न जिल्ला अधिवेशनका लागि उम्मेदवार छनौैट गर्दा हाम्रालाई होइन राम्रालाई अघि सार्न आग्रह गरेकी छन् । व्यास २ स्थित बालमन्दिर माविको पूर्व प्रअ समेत रहेकी शिक्षक नेता मल्लले शनिवार सामाजिक संजाल मार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सो आग्रह गरेकी हुन् । संघको स्थिति दयनीय छ, संघलाई अभिभावकत्व दिनसक्ने खालको नेतृत्वलाई अघि सारौ, मल्लको आग्रह छ । उनले दुई तीन जनाको मात्र संघ नभएर २४०० शिक्षक हरुको साझा संस्था शिक्षक संघ तनहुँ भएको औल्याएकी छन् । व्यास नपा भित्रका शिक्षक मात्र सक्षम छैनन् भन्दै मल्लले बैदिको कछार, ऋषिङ, घिरिङ गजरकोट जस्ता दुर्गम भेगका शिक्षकहरुको महत्वकांक्षाले पनि अवसर पाउनु पर्दछ भन्ने आफ्नो मान्यता रहेको प्रष्ट पारेकी छन् ।
हामीले दुई हात जोडेर मन भित्रैबाट सम्मान आउन सक्ने नेतृत्व छनौट गरौं, आफू भन्दा वरिष्ठको सम्मान गरौ, अरूलाई सम्मान गर्दा आफूले पनि सम्मान पाइन्छ भन्ने न विर्सौं, यसलाई पेवा बनाउने प्रयास नगरिदिनुहुन विनम्र अनुरोध छ, उनले लेखेकी छन् ।
हुन त केहीले आफ–आफै नेताको गोडा मोलेर टिकट लिसक्नु भाछ भन्दै मल्लले चाकडी प्रथाको विरोध गरेकी छन् । तपाईंका मतदाता शिक्षकहरूको तपाईंको व्यक्तित्व, तपाईंको क्रियाकलापको विषयमा के राय छ अलिकति बुझ्ने हो कि ? पक्कै पनि यसले सुधार गर्न मद्दत गर्ने छ भन्दै शिक्षक नेता मल्लले स्वमूल्याङ्कन गर्न सुझाएकी छन् ।