दमौली/२८, माघ
भानु नगरपालिका–११, मानेचौकास्थित त्रिभुवन मावि परिसरमा लमजुङको सुन्दरवजारस्थित नमुना सामुदायिक अस्पतालले विद्यार्थी लक्षित निशुल्क स्वास्थ्य शिविर गरेको छ । अस्पतालले विद्यार्थी लक्षित निशुल्क मुटुरोग परिक्षण शिविर आयोजना गरेको हो ।
मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसद्धारा सञ्चालित अस्पताल र नेपाल ह्दय रोग निवारण प्रतिष्ठानको संयुक्त आयोजना तथा भानु नगरपालिकाको सहकार्यमा विद्यार्थी लक्षित शिविर भएको हो । शिविरमा त्रिभुवन मावि लगायत आसपासमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मुटु परिक्षण भएको थियो ।
मुटु स्वास्थ्य जाँच सम्बन्धी बिशेषज्ञ सेवा सहितको निशुल्क शिविरमा १५ सय बढि विद्यार्थीहरुले सेवा लिएको नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । शिविरमा मुटुरोग निवारण प्रतिष्ठानका विशेषज्ञहरुद्धारा परामर्श सहित बालबालिकाहरुको मुटुको स्वास्थ्य परिक्षण गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए ।
भानु नगरपालिका प्रमुख आनन्द त्रिपाठीको प्रमुख अतिथ्यता एवं त्रिभुवन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं भानु ११ का वडा अध्यक्ष विमल राज जोशीको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी शिविर उद्घाटन भएको हो । कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, लमजुङका प्रमुख जिल्ला अधिकारी बसन्त राज पुरी, एचडिसिएसका संस्थापक अध्यक्ष डा. तिर्थ थापा लगायतले सम्बोधन गरेका थिए ।
अस्पतालले पहिलो दिन विद्यार्थी लक्षित शिविर आयोजना गरेको र शनिवार अस्पताल परिसरमै अन्य सर्वसाधारणका निम्ती बृहत शिविर आयोजना गरिएको जनाएको छ । सर्वसाधारणहरुको मुटु सम्वन्धी परिक्षणसँगै जीवन शैली र मुटुरोगहरुका बारेमा सचेतनामुलक कार्यक्रम पनि गरिएको अस्पताल प्रमुख श्रेष्ठले वताए ।
एचडिसिएसले गत महिनादेखि लमजुङको सुन्दरवजास्थित नमुना सामुदायिक अस्पतालमा औपचारिक रुपमा सेवा प्रवाह शुरु गरेको हो । अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पायक पर्ने दुर्गम भेगहरुमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । अस्पतालले लमजुङ र तनहुँका विभिन्न स्थानहरुमा निशुल्क स्वास्थ्य शिविर सँगै विद्यालय शिक्षा सचेतना कार्यक्रम पनि गर्दै आएको छ ।
एचडिसिएसले ३० वर्षका लागि अस्पताल व्यवस्थापन गर्नेगरी गत कार्तिक महिनामा सम्झौता गरेको थियो । कार्तिक यता नयाँ व्यवस्थापनको तयारी गरेको संस्थाले सवै तयारी पुरा गरी अंग्रेजी नयाँ वर्षको पहिलो दिनदेखिनै औपचारिक सेवा शुरु गरेको हो । अस्पतालमा यसअघि भएका संरचनामा सुधार गर्नुका साथै विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ सेवा र विभिन्न प्रकारको मेडिकल उपकरण सहित सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ ।
दुई दशक भन्दा बढि समय जिल्ला अस्पतालमा सेवा प्रवाह गर्दा नेपालकै उत्कृष्ट अस्पताल बनाउन सफल भएको र अव नमुना सामुदायिक अस्पतालको सेवा प्रवाहलाई पनि उत्कृष्ट बनाउने एचडिसिएसको तयारी छ । अस्पतालको आवश्यकता अनुसार पुर्वाधार र उपकरण व्यवस्थापन गर्ने र सो भेगका बासिन्दालाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाको लक्ष्य रहेको वताइएको छ ।