डेढ बर्षपछि स्मार्ट लाइसेन्स छपाईले निरन्तरता पाउँदै, आजदेखि १४ लाख स्मार्टकार्ड छाप्दै विभाग

15

विगत डेढ बर्षदखि रोकिएको स्मार्टकार्ड छपाईले पुनः निरन्तरता पाउने भएको छ । फ्रान्सेली कम्पनी सेल्प एसएसएलले यातायात व्यवस्था विभागलाई १४ लाख स्मार्टकार्ड उपलब्ध गराएको एक महिनापछि आज मंगलबारदेखि छापाई सुरु हुने भएको हो ।

नेपालमा कोरोना भाइरसका कारण भएको पहिलो चरणको बन्दाबन्दीपछि स्मार्टकार्डको सर्टेजले स्मार्टलाइसेन्स छपाई र बितरण रोकिएको थियो ।

यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले आज ३ बजेदेखि औपचारिक कार्यक्रम मार्फत लाइसेन्स छपाई र वितरण कार्य हुने बताए । ‘पहिलो चरणको बन्दाबन्दीपछि रोकिएको यो कार्यले निरन्तरता पाउन लागेको छ,’  उनले भने ‘अब स्मार्टलाइसेन्सको सर्टेज हुँदैन।’

उनका अनुसार मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु कुमारी यादवले उद्घाटन गर्दै फ्रान्सेली कम्पनीले गत एक महिना अघि नेपाल ल्याएको स्मार्टकाड लाइसेन्स छपाई सुरु गर्ने कार्यक्रम छ ।

ईन्जिनियर पोखरेलका अनुसार अब छपाईं हुने स्मार्टलाइसेन्सको डिजाइन र फम्यार्ट फरक हुने छ । अहिले वितरण भइरहेको स्मार्टलाइसेन्स प्रविधि मैत्री नभएको र पुनरावलोकन गनुपर्ने जरुरी देखिएकाले पनि कार्ड फरक देखिने उनको भनाई छ ।

स्मार्ट लाइसेन्स आपूर्तिको जिम्मा पाएको फ्रान्सेली कम्पनीले डेढ बर्ष स्मार्टकार्ड ल्याउन ढिलाइले लामो समय स्मार्टकार्ड छपाई रोकिएको थियो भने अर्जेन्टका लागि दिइने लाइसेन्स पनि छाप्न सकेको थिएन ।

विभागको तथ्याङ्क अनुसार हाल रसिदको भरमा मात्रै झन्डै ५ लाख सेवाग्राहीले सवारीसाधन चलाइरहेका छन । पहिलो चरणमा बर्षौदेखि रसिद लिएर बसेका सेवाग्राहीले समार्ट लाइसेन्स पाउने र त्यसपछिको चरण नयाँलाई उपलब्ध गराउने विभागको तयारी छ ।

विभागले लाइसेन्स छपाई तीन सिफ्टमा गर्ने भनेपनि लामो समयदेखि यो बिषय गफैमा सिमित भएको छ । कोरोना अघि विभाग दैनिक ४ देखि ७ हजारसम्म स्मार्टलाइेन्स छाप्दै आएको थियो ।

२०७३ सालबाट सुरु भएको स्मार्टलाइसेन्स वितरण हालसम्म २५ लाख जनाले चिप्स सहितको स्मार्टकार्ड पाइसकेका छन ।

यातायात विभागको लापर्वाहीले पछिल्लो समय स्मार्टलाइसेन्स वितरण र छपाईं समयमै हुन सकेको छैन् ।