काठमाडौं । यती एयरलाइन्सले नेपालीहरूलाई देशभित्र घुम्नका लागि विभिन्न गन्तव्यका प्याकेज ल्याएको छ ।
एयरलाइन्सको वार्षिकोत्सव तथा कोभिड –१९ पछि खुलेको नियमित उडानलाई प्रवर्द्धन गर्न भन्दै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि प्याकेज ल्याएको हो ।
अहिलेको समयमा विदेशबाट पर्यटक आउने सम्भावना नभएको र स्वदेशी पर्यटक नै मुख्य आधार भएकाले एयरलाइन्सले प्याकेज ल्याएको हो।
कोभिड १९ महामारीकै क्रममा सुरू भएको उडान सुरक्षित तरिकाले गरिने र यही बेला आन्तरिक पर्यटनको पनि विकास हुने एयरलाइन्सले जनाएको छ ।
यतीले यी प्याकेजहरु होटल, ट्राभल एजेन्सी लगायतका संस्थाहरुसँगको सहकार्यमा ल्याएको हो।
कुन प्याकेजको लागत कति ?
एभरेष्ट ट्रेल
सगरमाथा क्षेत्रको यो प्याकेज ४ रातको हुने छ । यसमा ब्रेकफास्ट र हवाइ टिकेट समावेस गरिएको छ । यसको लागत १४ हजार रुपैयाँ रहेको छ।
यसमा कूल पाँच दिन र चार रातको समय लाग्ने छ।
रारा
दुई रात तीन दिनको यो प्याकेजको लागत २५ हजार रुपैयाँ छ। यसमा काठमाडौंदेखि नेपालगञ्ज र नेपालगञ्जदेखि मुगुसम्म दुई ट्रिप हवाइ यात्रा हुने छ। यो लागतमा ब्रेकफास्ट, लञ्ज र डिनर पनि समावेस गरिएको छ।
पोखरा
पोखराको अधिकतम ८ हजारसम्मको प्याकेज रहेको छ। यसमा होटलको स्तरअनुसार प्याकेजको लागत निर्धारण गरिएको छ। तीन तारे होटलका लागि ६ हजार रुपैयाँको प्याकेज रहेको छ।
२ रात ३ दिनको यो प्याकेजमा ब्रेकफास्टमात्र उपलब्ध छ।
चितवन
२ रात ३ दिनको यो प्याकेज पनि होटल सुविधाअनुसारको प्याकेज लागत रहेको छ। स्ट्यान्डर्ड होटको १३ हजार रुपैयाँ रहेको छ भने डिलक्स रिसोर्टको लागत १७ हजार रुपैयाँ रहेको छ। चितवनको प्याकेजमा खाना तथा बस्नको व्यवस्था रहेको छ।
मुक्तिनाथ
३ रात ४ दिनको यो प्याकेजमा काठमाडौंदेखि जोमशोमसम्म हवाइ यात्रा हुने छ। १२ हजार ९९९ रुपैयाँको यो प्याकेजमा ब्रेकफास्ट मात्र उपलब्ध रहेको छ।
मुक्तिनाथको अर्को प्याकेज पनि छ। यो ४ रात ५ दिनको छ। यसको लागत १६ हजार ९९९ रुपैयाँ रहेको छ।
अन्नपूर्ण ट्रेल
अन्नपूर्ण क्षेत्रको ट्रेक प्याकेज भने ५ रात ६ दिनको छ। यसमा काठमाडौंदेखि पोखरासम्म हवाइ यात्रा हुने छ। पोखरादेखि धम्पुससम्म गाडीमा गएर बास बसेर भोलिपल्ट ट्रेक सुरु हुने छ ।
यसको लागत ११ हजार ९९९ रुपैयाँ रहेको छ ।
त्यस्तै अन्नपूर्णकै लक्जरी प्याकेजको मूल्य भने १९ हजार ९९९ रुपैयाँ रहेको छ। यसमा ४ रात ५ दिनको यात्रा हुने छ। यसमा पोखरा बाहेका अन्य ठाउँमा खाना, नास्ता पनि समावेस गरिएको छ।