काठमाडौँ । बर्दिवास–वीरगञ्ज रेल सञ्चालन गर्ने तयारी थालीएको छ ।
बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम भईरहेको रेल विभागले जनाएको हो । यस्तै अन्य काम पनि द्रुत गतिमा भइरहेको विभागले जनाएको छ ।
दुई सय किमी प्रतिघण्टा गुड्ने योजनासहित विद्युतीय रेल बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आएपछि बर्दिवासबाट वीरगञ्ज मुस्किलले पौने एक घण्टाभित्रै पुग्न सकिने विभागको भनाई छ ।
नेपाली भूमिमा निर्माण हुने पहिलो रेलमार्ग बर्दिवास सिमरा हुने विभागले जनाएको छ । बर्दिवासदेखि निजगढसम्मको ७० किमि रेलमार्ग बनाउन १० वटा ठूला पुल बनाउने काम पनि जारी रहेको छ ।
अवस्था समान्य भए सबै निर्माण कार्य पूरा गरी करिब डेढ वर्षभित्रै बर्दिवास–वीरगञ्ज मार्गमा रेल सञ्चालनमा आउने विभागका महानिर्देशक बलराम मिश्रको जिकिर छ ।
कोरोना महामारीका कारण बर्दिवास–वीरगञ्ज खण्डमा निर्माण कार्य प्रभावित भएको भन्दै अवस्था सामान्य भएमा चाँडै निर्माण कार्यले तीव्रता पाउने महानिर्देशक मिश्रले बताए ।
विसं २०६७ साउन महिनामा भारतीय कम्पनी राइट्स कन्सल्टयान्टले प्रतिकिलोमीटर रु ३५ देखि ४५ करोड लागत लाग्न सक्नेसहितको सम्भाव्यता अध्ययन गरेको आधारमा रेलमार्गको प्रक्रिया अघि बढेको हो ।
पाँच वर्षभित्र पूरा गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर रु ६९ अर्ब ५२ करोडको लागतमा ९४५ किमिको पूर्व पश्चिम रेलमार्गको कार्य अघि बढेको हो ।
महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।